
कपिलवस्तुको वाणगंगा नदीमा फसेका ७ जना युवालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
नदीमा पौडी खेल्न गएका बेला अचानक बाढी आएपछि वाणगंगा नगरपालिका–८ स्थित बालपुर गाउँ नजिकै वाणगंगा नदीको बीचमा उनीहरू फसेका थिए ।
नदीमा फसेका उनीहरूको सुरक्षाकर्मीको संयुक्त टोलीले उद्धार गरेको हो । कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रीपेन्द्रकुमार सिंहले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले डेढ घण्टाको प्रयासपछि उनीहरूको सकुशल उद्धार गरिएको जानकारी दिए ।
अर्घाखाँचीमा वर्षा भएपछि वाणगंगा नदीमा एक्कासी बाढी आएको थियो । उद्धारमा क्रेन पनि प्रयोग गरिएको डीएसपी सिंहले बताए ।
उद्धार गरिएका वाणगंगा नगरपालिका-४ का १७ वर्षीय सम्राट गिरी, १८ वर्षीय निर्वाचन नेपाली, १७ वर्षीय ज्ञानेन्द्र परियार, कृष्ण तिवारी, मनिष थापा, वाणगंगा नगरपालिका-१ का विकल्प रेग्मी तथा वाणगंगा नगरपालिका-८ का सुभाष घिमिरे छन् ।
जिल्ला प्रशासन कार्यालयले वाणगंगा नदीको बहाव बढेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।