२७ असार २०८३, शनिबार

तपिंताँ पार्कमा काठमाडौं महानगरपालिकाका संस्थापक प्रमुख सिंहको प्रतिमा

असार २७, २०८३
काठमाडौं
तपिंताँ पार्कमा काठमाडौं महानगरपालिकाका संस्थापक प्रमुख सिंहको प्रतिमा

काठमाडौं महानगरपालिका- १८ ले तपिंताँ पार्कमा महानगरपालिकाका संस्थापक प्रमुख प्रेमलाल सिंह (पीएल सिंह)को प्रतिमा राखेको छ । 

शनिबार महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रतिमा अनावरण गरिन् । कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलसहित वडाध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्यहरू, दिवंगत सिंहका परिवारका सदस्य र स्थानीयबासी सहभागी थिए । 

करिब ९ लाख ३८ हजार रूपैयाँ लागतमा निर्माण भएको धातुको प्रतिमा मूर्तिकार श्याम तुलाधरले बनाएका हुन् । दिवंगत सिंहसँगै वडाले पुष्पलाल पार्कमा मनमोहन अधिकारी, मदन भण्डारी, पुष्पलाल श्रेष्ठ, पद्मरत्न तुलाधर र शंखधर साख्वाको प्रतिमा राखेको छ । 

यस्तै, किलागलमा नारायण गोपालको, तुन्छे गल्लीमा चित्तधर हृदयको र वडा कार्यालयमा चन्द्रानन्द नेवाको प्रतिमा स्थापना गरेको छ । 

वडामा जन्मिएर वा वडामा बसेर राजनीति, गीत, संगीत, सामाजिक सेवालगायत क्षेत्रबाट वडाको पहिचान अभिवृद्धि गर्न योगदान गर्ने व्यक्तित्वहरूको प्रतिमा राखिएको हो ।

प्रतिमा अनावरण गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘नागरिकलाई आफ्नो ठानेर सेवाको संस्कार बसाएर उहाँले (पीएल सिंहले) जुगजुगसम्मका लागि नागरिक र महानगरपालिकालाई जोडेर जानुभएको छ । उहाँका योजनामा जोडिएर आज पनि हामीले काम गरिरहेका छौं । यसकारण उहाँ मार्गदर्शक मात्र नभएर नागरिक र सरकार जोड्ने सम्बन्ध सेतु पनि हुनुहुन्छ ।’

null

कार्यक्रममा वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले युगलाई बाटो देखाएर परलोकको यात्रामा गएका सिंहले प्रजातन्त्र र लोकतन्त्रका लागि व्यक्तिगत र पारिवारिक अपेक्षा, आकांक्षा त्यागेर नागरिककै लागि जीवन अर्पण गर्नु सामान्य त्याग नभएको उल्लेख गरे ।

‘उहाँ हाम्रो वडाको पहिचान र गौरव हुनुहुन्छ । उहाँले थालनी गरेको स्वच्छ, सफा हराभरा काठमाडौं कार्यक्रम अहिले पनि हामी कार्यान्वयन गरिरहेका छौं’, वडाध्यक्ष महर्जनले भने । 

२०३५ सालमा आफू मजदुर आन्दोलनका क्रममा पक्राउ परेको बेला भेट्न आउँदा सिंहसँग पहिलो भेट भएको प्रसङ्ग उल्लेख गर्दै वडा ११ का वडाध्यक्ष हीरालाल तण्डुकारले भने, ‘उहाँ असाधारण व्यक्ति हुनुहुन्थ्यो । प्रजातन्त्र र लोकतन्त्रप्रति त्याग, सहर निर्माणका लागि दृष्टि र योजना शव्दमा उतार्न सकिँदैन ।’ 

प्रजातन्त्र पुनःस्थापना भएपछि भएको स्थानीय निर्वाचनबाट पहिलो प्रमुखका रूपमा निर्वाचित भएपछि उनको दृष्टि स्थानीय स्वायत्ततामा थियो । २०४९ सालको स्थानीय निर्वाचनबाट काठमाडौं नगरपालिकाको प्रमुखका रूपमा निर्वाचित सिंहले २०५२ साल मंसिर २९ गते महानगरपालिका घोषणा गरेर महानगरपालिकाको प्रमुख बनेका थिए । 

साविक स्थानीय निकायलाई ‘निर्णय गर्ने’ र ‘निर्णय कार्यान्वयन गर्ने’ अधिकार प्रदान गर्न सिंहको अहम योगदान महत्त्वपूर्ण मानिन्छ । 

१९९६ साल चैत ११ गते ताम्सिपाखामा जन्मिएका सिंह जीवनको अन्तिम समयमा उपचारसँगै ठमेल चाक्सीबारी निवासमा थिए । अल्सर भएपछि २०८० सालमा उनको पेटको शल्यक्रिया गरिएको थियो । उनको २०८१ पुस १ गते निधन भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्