२६ असार २०८३, शुक्रबार

अस्पताल सञ्चालन गर्दै पूर्वाञ्चल विश्वविद्यालय

मंसिर २०, २०७९
अस्पताल सञ्चालन गर्दै पूर्वाञ्चल विश्वविद्यालय

मोरङस्थित पूर्वाञ्चल विश्वविद्यालयले आउने माघ १ गतेदेखि पूर्णकालीन अस्पताल सेवा सञ्चालन गर्ने बताएको छ । हाल आंशिक मेडिकल कलेज सञ्चालन गर्दैआएको विश्वविद्यालयले पूर्णकालीन स्वास्थ्य सेवा सञ्चालन गर्न लागेको जनाएको छ । 

पूर्वाञ्चल विश्वविद्यालयले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मोरङ ३ का प्रतिनिधिसभा सदस्य डा. सुनीलकुमार शर्माले अस्पताल सञ्चालनका लागि सबै सहयोग गर्ने प्रतिवद्धता जनाए । आफ्नो चुनाबी प्रतिवद्धतापत्रमा विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने उनले उल्लेख गरेका थिए। कम्तीमा तीन सय शैयाको अस्पताल सञ्चालन नगरेमा मेडिकल कलेज सञ्चालन गर्न नपाइने व्यवस्था छ । मेडिकल कलेज सञ्चालनका लागि आधारभूत काम अस्पताल सञ्चालन गर्नु रहेको शर्माले बताए । 

विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवराज कोइराला, कुलसचिव नीलमणि पोख्रेल र अस्पताल निर्देशक डा. विपेश आचार्यसँग अस्पताल सञ्चालनका विषयमा छलफल भइसकेको उनले बताए । कुनै वहानामा अस्पताल सञ्चालनको काम नरोकिने उनले प्रतिवद्धता जनाए । 

विश्वविद्यालयका ‘मदर इन्ष्टिच्युट’हरू बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी अस्पतालसँग समन्वय गर्न उनले आग्रह गरे । ती इन्ष्टिच्युटबाट सहयोग नगरेमा नोवेल शिक्षण अस्पतालले सहयोग गर्ने उनले विश्वास दिलाए । नोवेल मेडिकल कलेजका सञ्चालक समेत रहेका शर्माले एमडि र डिएम गरेका चिकित्सक उपलब्ध गराउने जिम्मा आफूले लिने बताए ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. कोइरालाले विश्वविद्यालयले हाल सानो रुपमा अस्पताल सञ्चालन गरिरहेको बताए । स्थानीय समाजसँग अस्पताललाई जोड्न नसकेसम्म गोठगाउँमा विश्वविद्यालय भएको अनुभुति नहुने उनले बताए । 

विश्वविद्यालयका अस्पताल निर्देशक डा. विपेश आचार्यले हाल अस्पतालले ११ जना विशेषज्ञ डाक्टरसहित ८० जना जनशक्तिबाट चिकित्सा सेवा दिइरहेको बताए । कम्तिमा तीन सय शैया सञ्चालन गर्न थप १५ जना विशेषज्ञ चिकित्सक र त्यसअनुसार डाक्टर नर्सको आवश्यकता पर्ने उनको भनाइ छ ।

विश्वविद्यालयले स्थापनाताका सात सय शैयाको अस्पताल सञ्चालन गर्ने अनुमति लिएको थियो । पछि घटाएर तीन सय शैयाको अस्पताल सञ्चालन गर्ने निर्णय गर्न पुग्यो । २०६५ मा ५० शैयाको अस्पताल सुरु गरेको विश्वविद्यालयले अहिले आकस्मिक सेवासहित ३० शैयाको अस्पताल सञ्चालन गर्दैआएको छ । 

salt training

कमेन्ट गर्नुहोस्