
सिन्धुलीको कमलामाई नगरपालिकाले कमलामाई मन्दिरको उत्पत्तिस्थल क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न उच्च प्राथमिकता दिने भएको छ ।
प्रचारप्रसारको अभावले प्रख्यात मन्दिरको उद्गमस्थल ओझेलमा परेको जनाउँदै नगरपालिकाले पर्यटन प्रवद्र्धनमा जोड दिएको हो ।
गौमती र कमला खोलाको सङ्गमस्थल कनपा–५ मा कमलामाई मन्दिर अवस्थित छ । यसको उत्पत्तिस्थल कमलामाई नगरपालिका–८ माईशीर हो ।
बीपी राजमार्ग निर्माणसँगै यातायातको सुविधा पुगेपछि माईस्थानमा रहेको मन्दिरमा चहलपहल बढेको भए पनि यसको उद्गमस्थलबारे कतिपय बेखबर छन् । यहाँ पनि मन्दिर बनाइएको छ । प्राकृतिक देवीदेवताहरूको शिला छन् ।
कमलामाई देवीले पानी पोखेको ठाउँबाट उम्रिएको पानी माईपोखरीमा जम्मा गरिएको छ । मन्दिर क्षेत्र पहाडले घेरिएको छ । चुरे क्षेत्रको सबैभन्दा अग्लो ठूलडाँडा यहीस्थल नजिक छ । ऐतिहासिक, धार्मिक, प्राकृतिक सुन्दरता मनोरम र रमणीय छ ।
ऐतिहासिक धार्मिकस्थलको संरक्षणमात्र होइन, विकास र प्रवद्र्धन गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले बताए । उनले भने, ‘यहाँसम्म आउने बाटो कालोपत्र हुने प्रक्रियामा छ । निर्माणाधीन धर्मशाला सम्पन्न गरेर वनभोजस्थल अझ व्यवस्थित बनाउँछौं, नमूना ठाउँ बनाएर यस क्षेत्रमा पर्यटक भित्र्याउने योजना छ ।’
हिन्दू धर्मलम्बीहरूले अतिविश्वास गर्ने धार्मिकस्थलमा पर्दछ कमलामाई मन्दिर । बीपी राजमार्ग निर्माणसँगै यातायातको सुविधा पुगेपछि माईस्थानमा रहेको मन्दिरमा नेपाल र भारतका भक्तजन दर्शनका लागि आउँछन् तर मन्दिरको उत्पतिस्थल माईशीरमा धेरैजसो पुग्दैनन् । यहाँको सौन्दर्यता, ऐतिहासिकता र धार्मिकताका बारेमा प्रचारप्रसार कमी भएको उनले सुनाए ।
नगर प्रमुख पोखरेलका अनुसार माईशीरमा हलुवावेद, जुनार, सुन्तला प्रशस्त पाइन्थ्यो । हलुवावेद लोप भए पनि अमिलो जातका फलफूल अझैै पाइन्छ । माईशीर क्षेत्रमा जुनार, सुन्तला, कागतीलाई व्यावसायिक खेतीका रुपमा विस्तार गरी पर्यटकीयस्थलका रूपमा विकास गरिने नगरको लक्ष्य छ । यस क्षेत्रमा खानेपानी र सिँचाइको चरम समस्या भएकाले लिफ्ट खानेपानी योजनाअन्तर्गत समस्या समाधान गरिने र यहाँका नागरिकको जीवनस्तर उकास्ने उनको भनाइ छ ।
‘यस वर्ष प्रदेश सरकारको २५ लाखमा नगरबाट पैसा थपेर खानेपानी र सिँचाइको व्यवस्था गर्छाैं । त्यसपछि फलफूलको नमूना ठाउँका रूपमा विकास गदैँ लैजान्छौं,’ उनले भने, ‘विकासका हिसाबले पिछडिएको तर परिर्वतनको सम्भावना प्रचुर भएको यस ठाउँलाई धार्मिकसँगै पर्यटकीय क्षेत्र बनाउने लक्ष्य छ ।’