२८ जेठ २०८३, बिहीबार

अवैध फर्सीको बिउ बरामद गर्ने क्रममा झडप, प्रहरीसहित ६ जना घाइते

जेठ २८, २०८३
रौतहट
अवैध फर्सीको बिउ बरामद गर्ने क्रममा झडप, प्रहरीसहित ६ जना घाइते

 रौतहटको सीमा क्षेत्रबाट भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको ठूलो परिमाणको फर्सीको बिउ प्रहरीले बरामद गरेको छ। 

बौधीमाई नगरपालिका वडा नं. ७ स्थित बाडा बंकुल टोलमा लुकाई छिपाई राखिएको ९० लाख १६ हजार रुपैयाँ बराबरको फर्सीको बिउ प्रहरीले नियन्त्रणमा लिएको हो।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बुधबार साँझ साढे ७ बजेतिर नेपाल-भारत सिमाना नजिकै छापा मारेको थियो। 

त्यस क्रममा बाटोको छेउमा त्रिपालले छोपेर राखिएको अवस्थामा ३२२ बोरा फर्सीको बिउ बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको १२ हजार ८ सय ८० किलोग्राम बिउको बजार मूल्य प्रतिबोरा २८ हजारका दरले कुल ९० लाख १६ हजार रुपैयाँ रहेको छ।

बिउ नियन्त्रणमा लिने क्रममा स्थानीय बासिन्दाले अवरोध सिर्जना गर्दै प्रहरी टोलीमाथि ढुङ्गामुडा गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। परिस्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो। सो झडपका क्रममा ढुङ्गामुडाबाट ३ जना स्थानीय र ३ जना प्रहरी कर्मचारी गरी ६ जना सामान्य घाइते भएका छन्।

प्रहरीले बरामद गरेको सबै बिउ आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइसकेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्