२८ जेठ २०८३, बिहीबार

रंगशालाका शहीदहरू

मंसिर २१, २०७९
रंगशालाका शहीदहरू
प्रतिकात्मक तस्वीर
  • दियेश रत्न शाक्य

हर्क आफ्नो गलामा चुम्मा लगाएका
तोते बोली भर्खरै फिरेका
छोरीको ओठको गोलपोष्टभित्र
चकलेट बल खेलाउन
कतार लागेको धेरै भयो

राम भरोस आफ्नो परिवारको छाकमा
मीट बल पुर्याउन
मुटुका टुक्रा आफ्ना नानीहरुलाई
स्वीटबल खेलाउन
कतार हानेको धेरै भयो

अहँ फर्केन उ
र उ जस्तै सयौं अरुहरू
फलाम पग्लने तातोमा
रडहरू जोड्दै
रंगशाला बनाउन जुटेका हातहरु
फेरि कहिले हलचल नहुनेगरी
एकाएक कक्रक्क चिसिए
र सदाको लागि हराए

युद्ध जस्तै त थियो उसको अभियान
तर पनि
शहीद बन्न सकेन उसको बलिदान

हो उसले सोचे जस्तै
त्यहाँ फुटबलको महाकुम्भ मेला लाग्यो
प्रत्येक खेलमा
नाचगान र बाजाहरूको रंगीन वर्षा भयो
प्रत्येक गोलमा / प्रत्येक जीतमा
ताली र हुर्रेहरुको लोभलाग्दो वर्षा भयो


र यो बीचमा
कहिले पनि
कतै पनि सम्झिएन
प्रत्येक प्याराफिटका ईंटा / गारोमा दबिएका
उनका आत्माका क्रन्दनहरू
उनका रोदनका पुकारहरू

सायद उ
र उ जस्तै अरुहरूको लागि
एउटा श्रद्धाको फूल पनि
कसैले वर्षाएन

यतिखेर
न्यायका लागि जति लोलाए पनि
उनीहरूका अदृश्य आँखाहरू
अनन्त मायाले हरिरहेका छन् यो मेला
र शुभकामना चढाइरहेका छन्
मनमोहक
सुनको ट्रफीको लागि

salt training

कमेन्ट गर्नुहोस्