
ताप्लेजुङमा मोतियाविन्दुका विरामी बढेका छन् । सदरमुकाम फुङ्लिङमा मङ्गलबारदेखि सुरु भएको तीन दिने निःशुल्क आँखा शिविरमा मोतियाविन्दुका रोगी बढेको देखिएको छ ।
उपचार सेवा लिन आएकामध्ये ७५ जनामा मोतियाविन्दु देखिएको चिकित्सकको भनाइ छ । शल्यक्रिया नै गर्नुुपर्ने खालको मोतियाविन्दुका विरामी भेटिएको जिल्लास्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले बताए । उनका अनुसार मोतियाविन्दुका रोगी ७५ मध्ये ४५ जनाको शल्यक्रिया गरिएको छ । बाँकी रहेकाहरुको पनि शल्यक्रिया गरिने उनले बताए ।
आयोजक नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङका अनुसार शिविर सुरु भएको दुई दिनमा चार सय बढी सेवाग्राहीले आँखाको परीक्षण गराएका छन् । मेची आँखा अस्पताल झापाको प्राविधिक सहयोगमा फुङ्लिङ नगरपालिका, सेवा फाउण्डेसन, लायन्स क्लब अफ काठमाडौं, हाम्रो रुपान्तरण अभियान, सानिमा मध्यतमोर जलबिद्युत परियोजना र सानिमा बैंकको साझेदारीमा शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा मेची आँखा अस्पताल झापाका मेडिकल निर्देशक डा. पुरुषोत्तम जोशीको नेतृत्वमा १३ जना चिकित्सक र प्राविधिकहरु आँखा उपचारमा खटेको नेत्र ज्योति सङ्घ ताप्लेजुङका सचिव खगेन्द्र अधिकारीले बताए । स्वास्थ्य शिविर आजसम्म चल्ने उनका भनाइ छ ।