
विवाहको लामो समयसम्म पनि सन्तान नभएपछि सर्लाहीको बलरा गाविसका ४५ वर्षीय विनोदकुमार झाको दैनिकी तनावमय थियो । उनी श्रीमती ३८ वर्षीया रेखादेवी झालाई लिएर सन्तान प्राप्तिको उद्देश्यले झारफुकदेखि उपचारका लागि धेरै ठाउँ भौतारिए । भ्याएसम्म, आफूले थाहा पाएसम्म र आफन्तले सुझाएसम्मका सबै ठाउँमा पुग्दा र सबै खालका उपाय लगाउँदासमेत यो दम्पत्तिले सन्तान पाउन सकेन ।
झा दम्पत्तिलाई त्यसपछि नर्भिकको आईभीएफ सेन्टरको विषयमा नजिकका मान्छेहरूले सुनाए । अन्ततः आईभीएफ सेन्टरमा टेष्टट्यूब बेबी प्रविधिबाट सन्तान प्राप्तिका लागि उनीहरूले गरेको प्रयास पहिलो पटकमै सफल भयो । केही दिनअघि नर्भिक आईभीएफ सेन्टरमा टेस्टट्यूब बेबी प्रविधिबाट रेखादेवी झाले ३ सन्तानलाई जन्म दिएकी छन् ।
‘मेरो जीवन र परिवारमा उज्यालो छाएको छ । हामी औँधी खुशी छौँ’, एकैपटक तिम्ल्याहा सन्तान प्राप्तिपछि विनोद झाले भने, ‘सन्तानविहीनताको लामो रिक्तता अन्त्य भएको छ । अब मेरो परिवार पूर्ण भएको छ ।’
रेखा भने शल्यक्रियामार्फत जन्मिएलगत्तै एनआईसीयूमा राखिएका आफ्ना तिम्ल्याहा बच्चाहरुको प्रतिक्षामा छिन् । ‘डा. गणेश साहले बच्चाहरूको अवस्था राम्रो हुँदैछ, चाँडै दिने भन्नुभएको छ’, उनले भनिन्, ‘बच्चाहरू पाएको दिन म झनै खुशी हुन्छु ।’
वरिष्ठ बालरोग विशेषज्ञ डा. साह नेतृत्वको टिम तिम्ल्याहा बच्चाहरूको उपचारमा संलग्न छ ।
झा दम्पत्ति करिब एकवर्षअघि उपचारका लागि नर्भिकको आईभीएफ सेन्टरमा आएका थिए । उनीहरूलाई विशेषज्ञ सेवा वरिष्ठ स्त्रीरोग एवं टेष्टट्यूव बेबी विशेषज्ञ डा. नूतन शर्माले दिएकी थिइन् । उनकै निगरानीमा रहेर झाले आईभीएफबाट तिम्ल्याहा सन्तान प्राप्ति गरेकी हुन् ।
डा. शर्माका अनुसार झा दम्पत्तिले पहिलो प्रयासमै आईभीएफबाट सन्तान प्राप्त गरेका हुन् ।
नर्भिक इन्टरनेशनल हस्पिटलमा शल्यक्रियामार्फत तीनवटै बच्चा निकालिएको डा. शर्माले बताइन् । उनका अनुसार आमा र बच्चाहरूको अवस्था हाल सामान्य रहेकाले एकदुई दिनभित्रै डिस्चार्ज गर्ने तयारी गरिएको छ ।