०७ असार २०८३, आइतबार

प्रधानाध्यापकको गुनासो : ३ शिक्षकले ६ कक्षासम्म कसरी पढाउने ?

मंसिर २८, २०७९
प्रधानाध्यापकको गुनासो : ३ शिक्षकले ६ कक्षासम्म कसरी पढाउने ?

विद्यार्थी चौरमा राखिएका डेस्क बेन्चमा पढिरहेका थिए । नजिकै पिपल चौतारा र मन्दिर । अर्को छेउमा शौचालय तथा खानेपानी र बीचमा खुला चौरले नै सिद्धिगणेश आधारभूत विद्यालयको आंशिक परिचय दिइरहेको थियो ।

लहरै बाल कक्षादेखि ५ कक्षामा पढ्ने बालबालिका आफ्नै धुनमा किताब पल्टाइरहेका थिए । शिक्षकले कक्षालाई समय दिएर कसैलाई लेख्न त कसैलाई पढ्न लगाएका थिए । 

त्यतिकैमा एउटा अनुगमन टोली आइपुग्यो र बाहिर चौरमै बसेर अनौपचारिक रूपमा शिक्षकसँग जानकारी लियो । यता विद्यार्थीलाई भने विद्यालयमा नयाँ मान्छे आएकोमा कुनै चासो थिएन ।

जब टोली भान्छा कोठा हुँदै कक्षा कोठातिर गयो, त्यसपछि पनि विद्यार्थी त्यही गतिमा थिए । टोलीले विद्यार्थी अनुशासित हुन् या अल्छी हुन् भन्दै कानाखुसी गर्न थाले । कक्षा कोठाबाट फर्केपछि टोलीको निष्कर्ष रह्यो विद्यार्थी अनुशासित छन् ।

कक्षा कोठाको अनुगमनपछि शिक्षक शिक्षिकासँगका छलफलमा प्रधानाध्यापक मायादेवी मल्लले सिद्धीगणेशको बाहिरी वातावरण जति सुन्दर भए पनि भित्र त्यस्तो नभएको बताइन् । ‘बाहिर हेर्दा त यहाँहरूले पनि धेरै नै मन पराउनुभयो तर भित्री रूपमा विद्यालय सोचेभन्दा धेरै नै फरक छ,’ उनले भनिन् ।

प्रधानाध्यापक मल्लले गाउँपालिकामा पटक–पटक विद्यालयमा शिक्षकका लागि माग गर्दा पनि गाउँपालिकाले बेवास्ता गरेको आरोप लगाइन् । अनुगमनमा आएको गाउँपालिकाको टीमकै अगाडि उनले भनिन्, ‘उहाँ सरहरूलाई थाहा छ, हामीले शिक्षक चाहियो भनेको २/३ वर्ष नै भइहाल्यो । हामी ३ जना शिक्षकले ६ कक्षासम्म कसरी पढाउने ?’

प्रधानाध्यापक मल्लका अनुसार कार्यतालिकामै एउटै कक्षामा ४/५ कक्षासम्म राखिएका छन् । ‘तर ३ जना कता शिक्षकले कता पो हेर्नु ? १ जना शिक्षक पालिकाले पठाइदिनुभयो भने राति निन्द्रा लाग्ने थियो,’ उनले दुखेसो पोखिन्, ‘आज त प्रत्यक्ष आफ्नै विद्यालयमा भन्ने मौका पाएँ । यसअघि पालिकाका सबै प्रतिनिधिलाई शिक्षकको याचना गरें, हुन्छ धेरैले भन्नुभयो तर अहिलेसम्म शिक्षक पाएनौं । हामीले नै शिक्षक थप्न आन्तरिक स्रोतको अभाव छ । अहिले भएका शिक्षकमध्ये पनि १ जना मात्रै बिदामा बस्नुभयो भने यहाँ बेहाल हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्