०९ असार २०८३, मंगलबार

अपराधका घटना हुन नदिन विद्यार्थीलाई अब चेतनामूलक पाठ्य सामग्री

अपराधका घटना हुन नदिन विद्यार्थीलाई अब चेतनामूलक पाठ्य सामग्री

शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि यहाँका स्थानीय तहका विद्यार्थीलाई नेपाल प्रहरीले पालिकाको सहकार्यमा पाठ्य सामग्री तयार पारेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले चेतनामूलक विद्यालय पाठ्य सामग्री २०७९ तयार गरी जिल्लाका सातै पालिकासँग सम्झौता गरेर पाठ्यक्रमको रुपमा प्रयोग गरेको हो । 

विसं २०७८ चैत २४ गते भरतपुर महानगरपालिकासँग सम्झौता गरेर पाठ्य सामग्री विद्यालयमा सुरु गरिएकोमा आइतबार इच्छाकामना गाउँपालिकासँग सम्झौता गरी जिल्लाभर पुर्‍याएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार ती पाठ्य सामग्री केही परिमार्जन गर्दै सम्बन्धित पालिका र जिल्ला प्रहरी कार्यालयको साझेदारीमा छपाइ गरेर बाढिएको हो ।

जिल्लाका सबै विद्यालयमा पुग्ने गरी पाठ्य सामग्री व्यवस्थापन गरिँदै छ । पाठ्य सामग्रीमा लागुऔषध दुव्र्यसनी, धूमपान, मध्यपान, साइबर अपराध र उजुरी गर्ने तरिका, सामाजिक सञ्जालको सुरक्षित प्रयोग र महिला तथा बालबालिकाविरुद्ध हुने अपराध समावेश गरिएको छ । अधिकारीका अनुसार पुस्तकमा सामाजिक अपराध, घरेलु हिंसा र उजुरी दिने कार्यविधि, करणीसम्बन्धी कसुर, ट्राफिक सचेतना, विपद्, जोखिम र न्यूनीकरणका उपाय, आत्महत्याका सङ्केत र बचाउने उपाय, घटनास्थलको सुरक्षा र अपराध तथ्याङ्क पद्धतिका बारेमा पुस्तकमा सामग्री राखिएको छ ।

घटना हुनै नदिन रोकथाम गर्ने उपाय, असल मानिसका कर्तव्य र जिम्मेवारी, चितवन जिल्लामा प्रहरी कार्यालयमा उजुरी दिने तथा सम्पर्कका माध्यम, आत्मरक्षा र बच्ने उपाय, चोरी तथा लुटपाट नियन्त्रणबाट बच्ने उपायका बारेमा विद्यार्थीले बुझ्नेगरी पाठ्य सामग्री तयार गरिएको अधिकारीले बताए । स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम सञ्चालनका लागि यो पाठ्यपुस्तकसहित प्रहरी समुदायको माझमा पुगेको उनको भनाइ छ । 

शैक्षिक संस्थाको बीचमा संस्थागत साझेदारी निर्माण गर्ने उद्देश्यले पाठ्यक्रम तयार गरी कार्यक्रम अघि बढाइएको अधिकारीको भनाइ रहेको छ । बालबालिकालाई अपराधउन्मुख हुनबाट तथा पीडित हुनबाट जोगाउन सामुदायिक सेवा र सुरक्षाको भावना अभिवृद्धि गर्नुका साथै असल र जिम्मेवार नागरिकका रुपमा विकास गर्नका लागि यो अवधारणा अघि सारिएको उनले बताए । उनका अनुसार अब जिल्लाका सबै विद्यालयमार्फत विद्यार्थीमा चेतनामूलक पाठ्य सामग्री पुग्नेछ ।

धेरैजसो हिंसाको चपेटामा स्कुल र क्याम्पसका किशोरकिशोरी हुनेगरेको भन्दै उनले यो कार्यक्रम प्रभावकारी वन्ने बताए । जिल्लाका सात पालिकामा तीन सय ३८ सामुदायिक विद्यालय रहेका छन् । यस्तै एक सय ६६ संस्थागत विद्यालय रहेका छन् । तीमध्ये सामुदायिक विद्यालयमा ९६ हजार पाँच सय ८६ र संस्थागत विद्यालयमा ८१ हजार ४८ विद्यार्थी अध्ययनरत रहेका छन् । ठूला विद्यार्थी यो पाठ्यक्रमबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । रासस

salt training

कमेन्ट गर्नुहोस्