नेपाली साङ्गीतिक क्षेत्रमा एक बेग्लै र विशिष्ट पहिचान बनाएका कलाकार हुन् – प्रकाश सपूत ।
उनका एकपछि अर्को सिर्जनाहरुलाई स्रोता/दर्शकहरुले औधी माया दिएका छन् । चलचित्रको पर्दामा समेत पर्दापण गरेका उनै प्रकाशले पहिलोपटक सुदूरपश्चिमको मौलिक भाका देउडा गीत गाएका छन् ।
‘लाईहेल कालो टीको’बोलको देउडा गीतमा उनले स्वर दिनुका साथै भिडियोमा अभिनय समेत गरेका छन् । गायिका लक्ष्मी आचार्यसँग उक्त गीतमा स्वर दिएका प्रकाशले भिडियोमा उनै आचार्यसँगै अभिनय गरेका हुन् । गीतमा सुदूरपश्चिमको कला र संस्कृति समेटिएको छ ।
नरेन्द्रराज रेग्मीको शब्द तथा संगीत रहेको उक्त गीत रि–रेकर्ड गरिएको हो । गीतमा एरेन्ज, मिक्सिङ र मास्टरिङ भने श्यामश्वेत रसाइलीको छ ।
मौसम हिमालीको निर्देशन, नवराज उप्रेतीको छायांकन रहेको भिडियो प्रविन भट्टको सम्पादनपछि सार्वजनिक भएको हो ।
गायक प्रकाशले यो गीतलाई एउटा कोसिस र सांस्कृतिक सहिष्णुता सम्झेर स्वीकार्न अनुरोध गरेका छन् ।
प्रकाशले फेसबुकमा लेखेका छन् ‘दोहोरी साँझमा कार्यरत रहदा सबै खालका गीतहरु गाईयो । त्यही बेला जानिनजानी देउडामा दोहोरी पनि खुब खेलीयो तर यसरी अफिसियल रेकर्ड भने भएको थिएन । यसपाली अग्रज नरेन्द्रराज रेग्मीज्युको संकलन रहेको ‘लाई हेल कालो टिको’ गीतलाई गायिका लक्ष्मी आचार्यले रि–रेकर्ड गराई मलाई आवाज भर्ने अवसर दिनु भएको छ । सुदुरकै कलाकारले गाए जस्तो त पटक्कै नहुने रहेछ । यसलाई एउटा कोसिस र सांस्कृतिक सहिष्णुता सम्झेर स्वीकारीदिनु होला ।’