११ साउन २०८३, सोमबार

मर्जरपछि सूर्यज्योतिको एकीकृत कारोबार शुरू

मर्जरपछि सूर्यज्योतिको एकीकृत कारोबार शुरू

सूर्यज्योति लाइफ इन्स्योरेन्सले नयाँबानेश्वरस्थित होटल एभरेष्टमा विशेष समारोहका साथ पहिलो सफल मर्जरको भव्य उद्घाटन गरेको छ । सूर्र्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई बनेको सूर्यज्योतिले पुस ७ गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो । 

गत असार १२ मा प्रारम्भिक सम्झौता गरेको कम्पनीले निकै चुनौतिका बावजुद पनि छोटो समयमै मर्जरको काम सम्पन्न गरी एकीकृत कारोबार गर्न सफल भएको हो ।

मर्जरपश्चात बनेको कम्पनीको चुक्ता पूँजी रु ४.५४ अर्ब पुगेको छ । यससँगै कम्पनी चुक्ता पुँजीमा तेस्रो ठूलो बीमा कम्पनी बन्न सफल भएको छ । एकीकृत कारोबारपश्चात सूर्यज्योतिको जीवन बीमाकोष रु २२ अर्ब, लगानी रु २८ अर्ब र कुल शाखा संख्या १८१ पुगेको छ भने कुल कर्मचारीको संख्या ६७५ पुगेको छ ।

एक उज्जवल सुरुवात भन्ने नाराका साथ नेपालको लाइफ इन्स्योरेन्स क्षेत्रमा अझ बृहत, अझ सबल र अझ विशाल उपस्थिति सूर्यज्योतिको हुनेछ । सूर्य र ज्योतिमा सात रंग भएझैं सूर्यज्योति पनि शुरुवात, न्यायोपन, प्रष्ट, उज्जवल, प्रतिबद्ध, समय र ऊर्जाका साथ एक भई अगाडि बढ्ने कम्पनीको अठोट रहेको छ । 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले तोकिएकै समयमा सफलतापूर्वक मर्जर सम्पन्न गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए । उनले कम्पनीको यस उपलब्धिलाई स्वर्ण अक्षरमा लेखिने प्रतिकृया दिएका थिए । जीवन बीमा क्षेत्रमा सूर्यज्योतिले ट्रेण्ड सेट गरेको भन्दै उनले यस उपलब्धिले अन्य कम्पनीहरूलाई पनि मर्जरको लागि प्रोत्साहन गर्ने बताए । साथै अध्यक्ष सिलवालले जीवन बीमा क्षेत्रमै ठूलो सफलता भएको र कम्पनीले नयाँ इतिहास रचेकोको बताएका छन् ।

कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराइले मर्जरका लागि जति जटिल हुन्छ भनेर सोचिएको थियो सोचेअनुसार जटिल नभएको बताए । मर्जरका क्रममा दुवै पक्षले निष्पक्ष रूपमा काम गरेको हुँदा समस्या नपरेको समेत उनले प्रष्ट पारे । अध्यक्ष भट्टराईले यो मर्जर सफल बनाउन अहम् भूमिका खेल्नुहुने सम्पूर्ण सरोकारवालाहरू, कर्मचारी साथीहरू, मार्गनिर्देश गर्ने बीमाप्राधिकरण तथा शेयरधनी महानुभावहरुलाई हृदयदेखि धन्यवाद व्यक्त गरे । 

मर्जरका क्रममा विश्वमा चलेका राम्रा अभ्यासलाई पछ्याउँदा धेरै सहजताका साथ मर्जर गर्न सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले बताए । दुवै कम्पनीको एक्चुरीयल मूल्यांकन, लेखापरीक्षण प्रतिवेदनलाई पियर रिभ्यु गरेर काम गरिएको उनले प्रष्ट पारे । सूर्या लाइफजस्तो १५ वर्षको परिपक्व कम्पनी र ५ वर्षको छोटो समयमै आफूलाई अब्बल साबित गरेको ज्योतिलाइफ कम्पनीबीच भएको संयोजनले राम्रो प्रतिफल दिने खत्रीको विश्वास छ ।

मर्जरपछि कम्पनीले टेक्नोलोजीमा लगानी गर्नुपर्ने र बजारमा आफ्नो प्रडक्ट मोडिफाई गर्नमा ध्यान दिनुपर्ने र कम्पनीले आउने दिनमा व्यवसाय बढाउने र सूर्यज्योतिलाई बीमा क्षेत्रकै बेञ्चमार्क बनाउने कम्पनीको प्रण रहेको सीईओ खत्रीले बताए । 

सिटिजन लाइफ इन्स्योरेन्सका सीईओसमेत रहेका जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल, सगरमाथा इन्स्योरेन्सका सीईओसमेत रहेका बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले, कम्पनीको प्रगति तथा सफलताको कामना दिनुका साथै आ–आफ्नातर्फबाट शुभकामना व्यक्त गरे । साथै कम्पनीका ब्राण्ड एम्बेस्डर राजेश हमालले नामजस्तै काम गरेर बीमा क्षेत्रमा प्रकाश छर्दै अघि बढ्न शुभकामना दिएका छन् ।

कम्पनीले एकीकृत कारोबार आरम्भ भएको दुई दिनमै एक हजारभन्दा धेरै पोलिसी जारी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्