२०७४ सालमा प्रदर्शनमा आएको नीता ढुंगाना अभिनित चलचित्र ‘पञ्चायत’ यतिबेला युट्युब ट्रेन्डिङमा छ ।
नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको यो चलचित्र पाँच दिनअघि युट्युबमा सार्वजनिक गरिएको थियो ।
सोमबार साँझसम्म चलचित्रले ८ लाख बढी भ्युज पाइसकेको छ । चलचित्र युट्युब ट्रेन्डिङको तेस्रो नम्बरमा छ ।
दर्शकहरुले चलचित्रलाई सकारात्मक प्रतिक्रिया दिएका छन् । अभिनेत्री नीता ढुंगानाको अभिनयको दर्शकहरुले खुलेर प्रशंसा गरेका छन् ।
अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’मा चलचित्र ‘पञ्चायत’ले ‘विदेशी भाषाको उत्कृष्ट चलचित्र’ विधामा र नायिका नीता ढुंगानाले ‘उत्कृष्ट मुख्य अभिनेत्री’ विधामा पुरस्कार जित्न सफल भएकी थिइन् ।
शिवम अधिकारीको लेखन एवं निर्देशन रहेको चलचित्रमा नीताका साथमा सरोज खनाल, रुपा राना, जाहन्वी बस्नेत, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ, रवि अधिकारी, सुचित्रा उप्रेती, अश्विनी कोइराला, प्रकृति ढुंगेल लगायतको अभिनय छ ।
गणेश गिरीको प्रस्तुति रहेको चलचित्रको निर्माता सुशान्तकुमार श्रेष्ठ र शंकर सुवेदी हुन् ।