०१ साउन २०८३, शुक्रबार
मनोरञ्जन

डाँडाघरे साइँली : जसले पायो डेढ वर्षमै ५ करोड भ्युज

​स्वरूपराजले पहिलोपटक कसरी गाए लोकदोहोरी गीत ?
पुस २३, २०७९
डाँडाघरे साइँली : जसले पायो डेढ वर्षमै ५ करोड भ्युज

संगीतकार श्रीकृष्ण बम मल्ललाई लोकदोहोरी गीतमा केही नयाँ प्रयोग गर्न मन थियो । थुप्रै ‘हिट’ आधुनिक गीत दिएका उनी यस्तो लोकदोहोरी गीत बनाउन चाहन्थे, जसलाई हरेक क्षेत्रका स्रोता/दर्शकले रुचाउन्, हरेक उमेर समूहका स्रोता–दर्शकलाई मन परोस् र गीत हाम्रो माटो सुहाउँदो मौलिक होस् साथै पृथक पनि । 

सोही क्रममा गीतकार कृष्ण केसीको शब्दमा मौलिक र फरक सिर्जना ल्याउने तयारीमा लागे उनी ।

गीतको बोल थियो – डाँडाघरे साइँली ।

श्रीकृष्णले आधुनिक गीतका सुप्रसिद्ध गायक स्वरूपराज आचार्यलाई ‘डाँडाघरे साइँली’ गीत गाउन लगाउने सोंच बनाए । किनकि त्यसअघि स्वरूपराजले कुनै लोकदोहोरी गीतमा स्वर दिएका थिएनन् । स्वरूपसँग थुप्रै आधुनिक गीतमा सहकार्य गरेका श्रीकृष्ण भन्छन्, ‘पहिले–पहिले नारायण गोपालले पनि मीठामीठा लोकगीत गाउनुभएको छ । मलाई पनि लाग्यो, लोकगीत स्वरूप दाइको आवाजमा सुन्दा कस्तो होला ? त्यसपछि उहाँलाई प्रस्ताव राखें ।’

गीतको प्रस्ताव राख्दा शुरूआतमा स्वरूपराज हाँसेका थिए । श्रीकृष्णले पछि गीत कम्पोज गरेर डमी पठाए । उनले भने, ‘डमी सुनेपछि शुरूआतमा उहाँ झस्किनुभएको थियो ।’

स्वरूपराजले त्यसबेला भनेका कुरा सुनाउँदै श्रीकृष्णले भने, ‘यो मबाट सम्भव छैन । यो धेरै भित्री सतहको लोकगीत हो । मैले सायद यो गीत गाउन सक्दिनँ होला । गाएँ भने मैले धेरै सिक्नुपर्छ । यदि मैले सकिनँ भने, जसले गाउँछ उसका लागि भाग्यको कुरा हुनेछ ।’

स्वरूपराज एकदिन स्टुडियोमा पुगे । श्रीकृष्णलाई लाग्यो, आज त दाइले गीत रेकर्ड गर्नुहुन्छ ।

तर त्यसदिन स्वरूपराजले गीत रेकर्ड गरेनन् । श्रीकृष्णलाई भने, ‘श्री, आज म गीत रेकर्ड गर्न होइन, अभ्यास गर्न आएको हो ।’

‘उहाँमा कस्तो पोजेटिभ भाइब्स । यो लोक गीत हो, जसरी गाए पनि हुन्छ भनेर भन्ने सोंच पनि उहाँले लिन सक्नुहुन्थ्यो,’ श्रीकृष्ण भन्छन्, ‘तर उहाँले एकदमै मेहनत गरेर गीत गाउनुभएको थियो ।’

उनका अनुसार स्वरूपराजले १ महिनाको तयारीपश्चात ‘डाँडाघरे साइँली’मा स्वर दिएका थिए ।
 
गीतमा महिला आवाज भने लक्ष्मी मल्लको छ, सांगीतिक क्षेत्रकी चर्चित गायिका उनी श्रीकृष्णकी जीवनसंगीनी हुन् ।

गीतको भिडियोमा पनि श्रीकृष्णले केही ‘प्रयोग’ गरेका छन् । लोकदोहोरीका चर्चित गायक प्रकाश सपूतलाई भिडियोमा नचाउने सोच बनाए उनले । मौसम हिमालीको कोरियोग्राफी र देवेन्द्र बब्लुको निर्देशन रहेको गीतको भिडियोमा चलचित्रकी अभिनेत्री शिल्पा पोखरेलदेखि अर्की मोडल करिष्मा ढकालसम्म प्रस्तुत भए । तामझाम विना सामान्य भिडियो बनाइयो । सामान्य नै सही, डेढ वर्षमै गीतले यूट्युबमा झण्डै ५ करोड भ्युज पाएको छ ।
 
गीत टिकटकमा त निकै हिट भयो नै, बजारका रेस्टुरेन्ट, यातायातका साधनदेखि गाउँघरमा निकै घन्कियो । श्रीकृष्णले सोचेझै गीतलाई हरेक क्षेत्रका, हरेक उमेर समूहका स्रोता/दर्शकले रुचाए । 
 
बिस्तारै हिट भएको गीत

अधिकांश गीतहरू सार्वजनिकको शुरूआती दिनमा चर्चामा आउँछन् । गीतहरूले शुरूआती दिनमा राम्रो भ्युज पाए पनि केही समयपछि भ्युजको गतिमा ब्रेक लाग्दै जान्छ तर ‘डाँडाघरे साइँली’ अपवाद बन्यो, जुन गीत बिस्तारै हिट भयो ।

यस गीतको भ्युजको गति शुरूआती दिनमा कम थियो । बिस्तारै गीतका टुक्काहरूमा टिकटक बन्दै गए । गीत सार्वजनिक स्थानमा घन्किन थाल्यो ।

श्रीकृष्ण भन्छन्, ‘गीत जब मासमा पुग्यो, अडियो र भिडियोलाई स्रोता–दर्शकहरूले ध्यान दिएर सुन्ने र हेर्ने गर्नुभयो, त्यसपछि गीतले राम्रो भ्युज पाउँदै गएको थियो ।’ उनका अनुसार १ करोड भ्युज पुग्न ४ महिना लाग्यो, गीतले अर्को १ महिनामा २ करोड भ्युज पार गरेको थियो । अहिले पनि दैनिक १ लाखभन्दा बढी भ्युज पाइरहेको छ गीतले । 

‘डाँडाघरे साइँली’मा स्वर दिएयता स्वरूपराजले अन्य लोकदोहोरी गीत गाइसकेका छन् । गत महिना सार्वजनिक ‘डाँडाघरे साइँली’ टीमको नयाँ लोकगीत ‘निरमाया ठूली’मा पनि स्वरूपराजले स्वर दिएका छन् ।
 
प्रमोदले पनि श्रीकृष्णकै प्रस्तावमा पहिलोपटक गाए लोकदोहोरी 

आधुनिक गायनमा कहलिएका गायक प्रमोद खरेलले पनि श्रीकृष्णकै प्रस्तावमा दोहोरी गीत गाएका छन् । प्रमोदले पहिलोपटक गाएको दोहोरी गीत ‘धरोधर्म विद्यानास’ले स्रोता/दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो । 

थुप्रै आधुनिक गीतमा श्रीकृष्णसँग सहकार्य गरेका प्रमोदले उनकै संगीतमा गीत गाएका हुन् । प्रमोदले लोकदोहोरी गीत गाएपछि उनका प्रशंसकहरू मात्रै नभएर उनी स्वयं पनि निकै खुशी छन् । 

उनले त्यसयता अन्य लोकदोहोरी गीत समेत गाएका छन् । श्रीकृष्णकै संगीतमा उनले अर्को लोकदोहोरी गीत गाइसकेका छन् । शान्तिश्री परियारसँग पनि उनले लोकदोहोरी गीत रेकर्ड गराइसकेका छन् । 

लोकदोहोरीलाई हेर्ने नजर परिवर्तन छ 

श्रीकृष्ण बम मल्ल संगीतमा लाग्दै गर्दा विधा छुट्याएर फरक नजरले हेर्ने परिपाटी थियो । त्यसमा पनि लोकदोहोरी भनेपछि अलि हेपाहा प्रवृत्ति देखिन्थ्यो तर पछिल्लो समय लोकदोहोरीलाई हेर्न नजरमा परिवर्तन आएको उनी बताउँछन् । पहिले–पहिले कुनै विवाह पार्टी, पिकनिकहरूमा रमाइलो गर्नका लागि हिन्दी गीतहरूको सहारा लिनुपथ्र्यो तर हिजोआज नेपाली गीत, त्यसमा पनि लोकदोहोरी गीत बढी रोजाइमा पर्ने गरेका छन् । चलेका अन्य विधाका कलाकारहरू पनि लोकदोहोरी गाउन एवं अभिनय गर्न चाहन्छन् । 

‘अहिले लोकदोहोरीलाई हेर्न नजरमा पूरै सकारात्मक परिवर्तन आएको छ । अहिले कलाकारहरूको मन नै समानान्तर जस्तो देख्छु,’ संगीतकार श्रीकृष्ण भन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्