१७ असार २०८३, बुधबार

‘सिरियल किलर’ दम्पतीः यसरी परे प्रहरीको फन्दामा

‘सिरियल किलर’ दम्पतीः यसरी परे प्रहरीको फन्दामा

लुम्बिनीका तीन जिल्लाका तीन महिलाको हत्या गर्ने भारतीय ‘सिरियल किलर’ लाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

चार महिनाको अन्तरमा कपिलवस्तु, गुल्मी र अर्घाखाँचीमा महिलाका गरगहना र धनमाल लुट्न श्रृङखलाबद्ध हत्या गर्ने भारतीय नागरिक सुशान्त सिंह र उनीकी पत्नी शिवा परियारलाई अर्घाखाँची प्रहरीले विशेष अपरेशन गरी पक्राउ गरेको हो । सिंह पत्नी शिवा अर्घाखाँची शीतगंगा नगरपालिका वडा नम्बर १० निवासी हुन् । २३ वर्षीया सिंह भारतको गुडगाउँ हरियाणाका रहेका प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

सिंह दम्पतीले पुस १७ गते अर्घाखाँचीको शीतगंगा नगरपालिका–१० बोखरकी ६० वर्षीया राधा थापा, गएको कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका–५ की ७५ वर्षीया जीवकला थापा र गएको असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका–४ की ७० वर्षीया योगमाया गैरेको समेत हत्या गरेका थिए ।

अर्घाखाँची प्रहरी प्रमुख मुकुन्दप्रसाद रिजालले विशेष अनुसन्धानबाट उनीहरूलाई पक्राउ गर्न सफल भएको बताए ।​

सुशान्तले श्रीमतीसँग मिलेर श्रृंखलाबद्ध हत्या गरेको खुलेपछि उनकी श्रीमती शीतगंगा नगरपालिका–१० सिद्धाराकी २२ वर्षीया शिवालाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए । सिंहले ३ वर्षअघि परियारसँग विवाह गरी कपिलवस्तुमा कोठा भाडामा लिएर बस्दै आएको खुलेको छ । थापाको हत्या गर्न श्रीमानलाई सघाएको र योजना बनाउन सहयोग गरेको परियारले प्रहरीलाई बयान दिएकी छन् । 

अर्घाखाँचीमा तेस्रो पटक महिलाको हत्या गरी भाग्ने क्रममा प्रहरीले सिंह दम्पतीलाई पक्राउ गरेको हो । पक्राउ गरी अनुसन्धान गर्दा सिंहले तीन वटै घटनामा आफ्नो संलग्नता रहेको प्रहरीसमक्ष स्विकारेका हुन् । यही पुस १७ गते शीतगंगा-१० बोखरकी ६० वर्षीया राधा थापालाई दूध लिन जाने क्रममा बाटोमा ढुकेर हत्या गरेका थिए। थापालाई ढुंगा र हँसिया प्रहार गरी हत्या गरी जंगलको खोल्सामा फालेर गहना लिएर भागेका थिए । शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

तत्काल घटनास्थल पुगेको प्रहरीले शंकास्पद व्यक्तिको खोजी गरेको थियो । हत्यारा खोज्दै जाँदा शीतगंगा-११ स्थित मुद्रेबास जंगलमा लुकेर बसेको अवस्थामा सुशान्त र शिवा पक्राउ परेका हुन् । यो घटना कपिलवस्तु र गुल्मीमा भएको वृद्धा हत्याकै घटनासँग मिल्दोजुल्दो देखिएकाले प्रहरीले अनुसन्धान बढाएको थियो ।

त्यस्तै गएको असोज १४ मा कपिलवस्तुको विजयनगर गाउँपालिका–४ विजयनगरकी ७० वर्षीया योगमाया गैरेको पनि सुशान्तले नै हत्या गरेको पुष्टि भएको छ । सुशान्त दम्पतीले योगमायाको हत्या गरी गहना लुटेर भारत गएको प्रहरीलाई बयान दिएका छन् । सिंहले गएको कार्तिक २८ मा गुल्मीको इस्मा गाउँपालिका–५ की ७५ वर्षीया जीवकला थापालाई पनि घरमै पुगेर हत्या गरी गहना लुटेर भागेको खुलेको छ ।

जीवकला घरमा एक्लै रहेको भिडियो युट्युबमा हेरी सिंह गुल्मी पुगेको बताएका छन् । घरमा छोराछोरी कोही नभएको र श्रीमानको मृत्यु भइसकेको थाहा पाएर घरमा पुगेका सिंहले उनको घाँटी थिची हत्या गरी सुनका गरगहना लुटी भागेको प्रहरी निरीक्षक पौडेलले बताए ।

थापाको जीवनकथा एउटा युट्युब च्यानलमार्फत सार्वजनिक भएको थियो । ‘तीनवटै घटनामा गहनाकै लागि सिंहले हत्या गरी भागेको खुलेको छ । विभिन्न माध्यमबाट एकल महिला भएको पत्ता लगाउने र योजना बनाएर हत्या गर्दै गहना लुट्ने गरेको अनुसन्धानबाट देखियो’ प्रहरी निरीक्षक पौडेलले भने । यसरी लगातार एउटै प्रकृतिका घटनामा सिंह दम्पती मात्रै संलग्न छन् कि अरू गिरोह नै छ भन्नेबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्