
कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धानबालीका लागि आवश्यक मलको आपूर्ति सुनिश्चित गर्दै किसानलाई राहत दिने उद्देश्यले मन्त्रालयले विभिन्न माध्यमबाट आयात प्रक्रिया अघि बढाएको जनाएको छ।
मन्त्रालयका अनुसार सरकार–सरकार (जीटूजी) सम्झौताअन्तर्गत भारतबाट ८० हजार मेट्रिक टन युरिया आयात गर्ने सम्झौता भएको छ। यसमध्ये पहिलो चरणमा ५० हजार मेट्रिक टन युरिया साउनको दोस्रो सातासम्म नेपाल आइपुग्नेछ। त्यसमध्ये ३० हजार मेट्रिक टन युरिया असार अन्त्यदेखि साउनको दोस्रो साताभित्र नेपाल भित्रिने सम्भावना रहेको मन्त्रालयले जनाएको छ।
यस्तै, अन्तर्राष्ट्रिय (ग्लोबल) टेन्डरमार्फत १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल आयात गरिँदै छ। यसमा ६० हजार मेट्रिक टन डीएपी र १ लाख २० हजार मेट्रिक टन युरिया समावेश छन्। यीमध्ये अधिकांश मल साउनको पहिलो सातासम्म नेपाल भित्र्याउने लक्ष्य राखिएको छ।
मन्त्रालयका अनुसार ओमानबाट ३० हजार मेट्रिक टन युरिया लोडिङको प्रक्रियामा रहेको छ। उक्त मल असार अन्तिमसम्म कलकत्ता बन्दरगाह आइपुग्ने र साउनको दोस्रो सातासम्म नेपाल भित्रिने अपेक्षा गरिएको छ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अनुसार ३० हजार मेट्रिक टन डीएपी मल होर्मुज जलडमरूमध्य पार गरी भिसाखापट्टनम बन्दरगाह पुगिसकेको छ। उक्त मल असार १९–२० गतेसम्म नेपाल आइपुग्नेछ।
त्यस्तै, थप ३० हजार मेट्रिक टन युरिया जहाजमा लोड भइसकेको छ। यो मल साउनको पहिलो साता कलकत्ता बन्दरगाह पुग्ने र साउन अन्तिमसम्म नेपाल भित्रिनेछ।
कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार कतारबाट ३० हजार मेट्रिक टन युरिया ढुवानी भइसकेको छ, जुन असार अन्तिम सातासम्म कलकत्ता पुग्नेछ। त्यसैगरी साउदी अरेबियाबाट ३० हजार मेट्रिक टन युरिया लोड भइसकेको र असार अन्तिम सातासम्म कलकत्ता आइपुग्ने जनाइएको छ।
यस्तै, भियतनामबाट ३० हजार मेट्रिक टन डीएपी लोड भइसकेको छ। उक्त मल असार अन्तिम सातासम्म कलकत्ता पुग्ने र साउनको दोस्रो साताभित्र नेपाल भित्रिने अपेक्षा गरिएको छ।
मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको उपलब्धतामा केही असर परे पनि किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार विगतका वर्षको तुलनामा यस वर्ष हालसम्मकै सबैभन्दा बढी रासायनिक मल आयात गर्ने लक्ष्य राखिएको छ। चालु आर्थिक वर्षमा करिब ६ लाख मेट्रिक टन रासायनिक मल कृषकलाई अनुदानमा उपलब्ध गराउने लक्ष्य रहेको छ।
यसका साथै मल वितरण प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सम्बन्धित निकायलाई अनलाइन प्रणालीमा आवश्यक विवरण अनिवार्य रूपमा अद्यावधिक गर्न मन्त्रालयले निर्देशन दिएको छ।