२८ जेठ २०८३, बिहीबार
कर्णालीका नयाँ मुख्यमन्त्री

जनयुद्धमा सैन्य मोर्चा सम्हालेका राजकुमारको काँधमा कर्णालीको शासकीय जिम्मेवारी

पुस २८, २०७९
जनयुद्धमा सैन्य मोर्चा सम्हालेका राजकुमारको काँधमा कर्णालीको शासकीय जिम्मेवारी

तत्कालीन १० वर्षे माओवादी जनयुद्धमा राजनीतिक र सैन्य मोर्चा सम्हालेका रुकुमपश्चिमका राजकुमार शर्मा कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका छन् ।

नेकपा एमाले, राप्रपा र नेकपा एकीकृत समाजवादीको समर्थनमा बुधवार मुख्यमन्त्री नियुक्त भएका उनको काँधमा अब प्रदेशको नेतृत्व गर्ने जिम्मेवारी आइपुगेको छ । 

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शर्माले आफ्ना १३, एमालेका १०, राप्रपा र नेकपा एकीकृत समाजवादीका १/१ गरी २५ सांसदको समर्थनसहित मुख्यमन्त्री नियुक्तिमा दाबी पेश गरेका थिए । मुख्यमन्त्री दाबी पेश गर्न उनी सत्ता साझेदार दलका नेता र सांसदहरूसहित प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गर्न जानुअघि एमाले र माओवादी केन्द्रबीच प्रदेश सरकारको कार्यकालमा आधा–आधा नेतृत्व लिने, मन्त्रालयको संख्या घटाउने लगायतका ४ बुँदे लिखित सहमति भएको थियो ।

शर्मालाई प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ (२) बमोजिम बुधवार अपराह्न मुख्यमन्त्री नियुक्त गरेका थिए । नवनियुक्त मुख्यमन्त्रीले विहीवार केही मन्त्रीसहित पद तथा गोपनीयताको शपथ लिने सत्ता साझेदार दलका नेताहरू बताउँछन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि शर्माले दलहरूको सहमतिमा नीति तथा कार्यक्रम ल्याउने र त्यसको मुख्य उद्देश्य कर्णालीको गरीबी घटाउनुमा केन्द्रित हुने प्रतिक्रिया दिए ।

‘हाम्रो प्राथमिकता कर्णालीको गरीबी हो, गरीबी अन्त्य गर्ने अभियानमा सबै दलबीच सहकार्य जरुरी छ,’ उनले भने, ‘मैले जिम्मेवारीलाई सकारात्मक चुनौतीका रूपमा लिएको छु ।’

को हुन् मुख्यमन्त्री शर्मा ?

नवनियुक्त मुख्यमन्त्री शर्मा मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा रुकुमपश्चिम प्रदेश क्षेत्र (२) बाट निर्वाचित भएका थिए । चौरजहारी नगरपालिका–१४ नुवाकोटका स्थायी वासिन्दा शर्मा २०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका थिए । पार्टी संघीय संरचनामा गएपछि उनी कर्णाली प्रदेश कमिटीको पहिलो अध्यक्ष समेत भएका थिए ।

हाल माओवादी केन्द्रको पोलिट्ब्युरो सदस्य रहेका शर्मा पार्टीभित्र ‘आर्ट’ नामले चिनिन्छन् । २०२८ भदौ १८ गते तत्कालीन रुकुम जिल्लाको नुवाकोट गाविसमा जन्मिएका उनी स्कूले पढाइ छाडेर १४ वर्षको कलिलो उमेरमै मशालको राजनीतिमा जोडिएका थिए । उनले २०४१ सालमा मशालको विद्यार्थी संगठन अनेरास्ववियूमार्फत राजनीतिक यात्रा तय गरेका थिए । त्यतिबेला उनकै घरमा अनेरास्ववियूको क्षेत्रीय सम्मेलन भएको थियो । 

२०४६ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ महामन्त्री रहेको नेकपा मसालको संगठित सदस्यता प्राप्त गरी उनी २०४७ सालदेखि पूणर्कालीन कार्यकर्ताको रूपमा राजनीतिमा होमिएका थिए । २०५१ सालमा तत्कालीन नेकपा एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकबाट पार्टीको नाम परिवर्तन भई नेकपा माओवादी बन्यो । जनयुद्धका लागि फौजी आधार तयार गर्न २०५० सालमा रुकुम महत गाउँको फूलबारी जंगलमा ४५ दिने सशस्त्र तालिम आयोजना गरिएको थियो, त्यसमा पनि उनी सहभागी थिए ।

२०५२ फागुन १ गते प्रचण्ड नेतृत्वमा जनयुद्ध शुरू भएपछि शर्माको भूमिगत राजनीति शुरू भएको थियो । जनयुद्ध घोषणाकै दिन रुकुमको राडी प्रहरी चौकी आक्रमण गर्न उनी अग्रपंक्तिमा खटिएका थिए । 

२०५३ पुसमा डोल्पाको त्रिवेणी चौकी आक्रमणमा शर्मा पनि सहभागी थिए । आक्रमणमा मुख्य कमाण्डर दौलतराम घर्ती (विजय घले) मारिएका थिए । जनयुद्ध विस्तारका सिलसिलामा २०५४ सालदेखि जुम्ला, कालीकोट, मुगु, डोल्पा, हुम्ला, दैलेखमा जिल्ला सेक्रेटरी र इन्चार्जका रूपमा जनयुद्धको विस्तार तथा आधार इलाका निर्माणमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

दैलेखमा २०६१ सालमा माओवादीविरुद्ध प्रतिकार अभियान चलेका बेला उनी त्यहाँ खटिए । शान्ति प्रक्रियापछि उनले थारुवान राज्य समितिको (दाङ–कञ्चनपुर) को प्रमुख, २०६७ सालपछि नेवा राज्य समितिमा काम गरे । माओवादीको केन्द्रीय प्रचार विभागमा पनि शर्माले काम गरेको अनुभव छ । 

salt training

कमेन्ट गर्नुहोस्