१२ साउन २०८३, मंगलबार
पोखरामा विमान दुर्घटना

सहकर्मी पाइलट रोशन भन्छन्– उहाँ 'रिस्क' लिनुहुन्थेन

माघ १, २०७९
सहकर्मी पाइलट रोशन भन्छन्– उहाँ 'रिस्क' लिनुहुन्थेन
पृष्ठभूमिमा पाइलटद्वय केसी र खतिवडा (जोडिएको तस्वीर)

यती एयरको विमान पोखरा विमानस्थलनजिक सेती खोंचमा दुर्घटनामा परेको छ ।

आइतवार बिहान काठमाडौंबाट उडेको विमान पोखराको नयाँ विमानस्थलमा ल्यान्ड गर्ने क्रममा दुर्घटनामा परेको हो ।

नाइन एन एएनसी एटीआर ७२ विमानमा ६८ यात्रु र चालक दलका ४ सदस्य थिए । 

विमान २५ वर्ष अनुभवी सिनियर पाइलट कमल केसीले उडाएका थिए । पाइलट अञ्जु खतिवडाले पनि अनुभव प्राप्त गरिसकेकी थिइन् ।

उनले एटीआर विमानमा क्याप्टेन भएर समेत उडान गर्न थालिसकेकी थिइन् । 

कमलसँगै विमान उडाइसकेका पाइलट रोशन सापकोटा उनी (कमल) एकदमै अनुभवी र सिनियर पाइलट रहेको बताउँछन् । सापकोटासँगको कुराकानी उनकै शब्दमा :

कमल केसी २५ वर्षदेखि विमान उडाउँदै आएको एकदमै अनुभवी पाइलट हुनुहुन्थ्यो । उहाँले २० हजार घण्टाभन्दा बढी विमान उडाइसक्नुभएको छ । को–पाइलट अञ्जु खतिवडा पनि अनुभवी हो । हामीले सँगै तालिम गरेका हौं । क्याप्टेनकै रूपमा पनि प्लेन उडाइसक्नुभएको छ ।

मलाई एक सय घण्टाको फ्लाइट क्लियर पनि पाइलट केसीले नै गराउनुभएको थियो । पोखरा, विराटनगर, चन्द्रगढी, नेपालगञ्जसहित धेरै ठाउँमा सँगै उडान भरेका छौं । उडानका क्रममा उहाँ ‘रिस्क’ लिने खालको पाइलट कहिल्यै लागेको छैन । अनुभवले खारिएको व्यक्ति हुनुहुन्थ्यो । 

फाइल तस्वीरमा क्याप्टेन केसीसँग पाइलट रोशन सापकोटा

पोखराको नयाँ एयरपोर्टमा काठमाडौंबाट जाँदाजाँदै एकातिर ‘वान टु’को दिशाबाट ल्यान्ड गर्ने र अर्कातिर ‘थ्री जिरो’को दिशाबाट ल्यान्ड गर्ने भन्ने हुन्छ ।

टावरसँगको सम्पर्कपछि जुन सजिलो हुन्छ, त्यही दिशाबाट पाइलटले ल्यान्ड गर्न खोज्ने हो । दुर्घटना भएको विमानले 'वान टु'तिरबाट ल्यान्ड गर्न खोजेको देखिन्छ । यही क्रममा दुर्घटना भएको हो । 

प्लेनमा पहिले नै खराबी आएको भए टावरसँगको एप्रोचमा क्याप्टेन पक्कै पुग्नुहुन्थ्यो । तर ल्यान्ड गर्ने अन्तिम समयतिर दुर्घटना भएको देखिन्छ । लो अल्टिच्युटमा समस्या आउँदा के गर्ने भन्ने निर्णय लिन निकै कम समय हुन्छ । हाई अल्टिच्युटमा भएको भए अलि बढी समय हुन्थ्यो ।

तर पोखरा दुर्घटनामा विमान ल्यान्ड गर्ने बेलामा तलतिर झरेको देखिन्छ । लो अल्टिच्युडमा तत्काल मोड्न खोज्दा समस्या देखिएको हुन सक्छ । ल्यान्ड गर्न खोज्दा  केही प्राविधिक समस्या आएर दुर्घटना भएको हो छानबिन पछि पत्ता लाग्ने कुरा हो, अहिलै अनुमान गर्न सकिँदैन । अरू प्राविधिक खराबी आएको पनि हुन सक्छ । 

बस्ती जोगाउन सेतीको खोंचमा ठोक्काएको भन्नेचाहिँ लाग्दैन । त्यति समय नै हुँदैन । एयरपोर्टसम्म पुग्न नै प्रयास गरेको देखिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्