
प्रदेश १ मा आजबाट 'आध्यन्त एक्सिलेरेटर कार्यक्रम' शुरु भएको छ।
प्राइभेट इक्विटी एवम् भेन्चर क्यापिटल कोष सञ्चालक आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेड र सहज–एनएएमडीपी (नेपाल कृषि बजार विकास कार्यक्रम) को मुख्य साझेदारीमा प्रदेश १ मा उच्च वृद्धिको सम्भावना भएका कृषि उद्यमहरूलाई लक्षित गरी विराटनगरमा यो कार्यक्रम शुरुवात गरिएको हो।
कार्यक्रमको प्राथमिक लक्ष्य प्रदेश १ का कृषि व्यवसायहरूको क्षमता बढाई उनीहरूलाई थप लगानी प्राप्त गर्न पुँजीमा पहुँच पुर्याउन सहयोग गर्नु रहेको जनाएको छ।
एक्सेलरेटर कार्यक्रमले कृषिमा आधारित उद्यमीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न आवश्यक स्रोत–सामाग्री र व्यवसायिक परामर्श प्रदान गरी लगानीयोग्य बन्न मद्दत गर्नेछ।
जसले प्रदेशमा उपलब्ध स्रोतहरूको व्यवसायिक उपयोग गरी प्रदेशलाई समृद्ध र आत्मनिर्भर बन्न मद्दत पुग्ने कार्यक्रमकासाझेदारी र सञ्चार प्रबन्धक निश्चल सिंह भण्डारीले बताए।
कार्यक्रमले कृषि–उद्यमीहरूलाई व्यवसायिक वृतमा तथा वृतभन्दा बाहिर रहेका उद्योगी–समुदायसँग सम्पर्क विस्तार गर्न मद्दत हुनुका साथै थप रोजगारी सिर्जना गर्न मद्दत गर्ने उद्देश्य राख्ने उनले बताए।
यसअघिका एक्सिलेरेटर कार्यक्रमहरू राजधानीमा मात्र केन्द्रित हुने गरेको गुनासो आएपछि आध्यन्त एक्सिलेरेटर कार्यक्रम नेपालमै पहिलो पटक राजधानी बाहिर, प्रदेश १ लाई केन्द्रित गरेर हुन लागिरहेको हो।
यसबाहेक नेपालमै पहिलो पल्ट सार्वजनिक निजी साझेदारीको मोडलमा एक्सिलेरेटर कार्यक्रम सञ्चालन हुन लागेको हो।
यसमा प्रदेश सरकारको तर्फबाट प्रदेश लगानी प्राधिकरण, निजी क्षेत्रको सबैभन्दा ठूलो र साझा संगठन नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ लाई समेटिएको छ।
प्राप्त आवेदानहरूबाट १० वटा उद्यमीहरूलाई छनोट गरी १२ हप्तासम्म पुँजी, बजार पहुँच, र विविध प्राविधिकलगायत आन्तरिक चुनौतीहरू केन्द्रित परामर्श प्रदान गरिने जनाइएको छ ।
यस एक्सेलरेटर कार्यक्रमले व्यवसायिक वृतमा रहेका विभिन्न सरोकारवालाहरूले आपसमा गर्ने अन्तरक्रिया र सहकार्यको तरिकामा परिवर्तन ल्याउने विश्वास गरिएको छ।
साथै यसले उद्यमीहरूलाई उनीहरूको व्यवसायिक पर्यावरणभन्दा बाहिरको सहयोग र स्रोतहरूको साथै सम्बन्धित क्षेत्रका विशेषज्ञ र सल्लाहकारहरूको बृहत सञ्जालसम्म पहुँचसमेत प्रदान गर्नेछ।
आवेदनका लागि मिति २०७९ माघ ४ गते देखि १८ गतेसम्म खुला गरिएको जनाइएको छ।
विराटनगरस्थित बिग होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उद्योग वाणिज्य महासंघ केन्द्रिय कार्यकारिणी समिति सदस्य तथा प्रदेश उपाध्यक्ष श्री राजेन्द्र राउत, प्रदेश कृषि मन्त्रालयका उपसचिव पशुपति पोखरेल, प्रदेश लगानी प्राधिकरणका सीईओ डा. सरोज कोइराला, सहज कार्यक्रमका टिम लिड रिक भान डेर क्याम्प र आध्यन्तका संस्थापक मनोज पौडेलले मन्तव्य व्यक्त गरेका थिए।
सँगै कार्यक्रममा सहभागी हुन प्रदेश नं. १ का कृषि उद्यमीहरूबाट आवेदन आह्वानसमेत गरिएको छ।
साथै प्रदेश न. १ मा लगानी प्रवर्द्धनका लागि प्रदेश लगानी प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १, सहज परियोजना र आध्यन्तबीच औपचारिक समझदारी गर्ने प्रक्रिया बढेको समेत जनाइएको छ।
आध्यन्त नेपालमा स्टार्टअप संस्कृति तथा व्यवसायिक वातावरण प्रवर्द्धनमा काम गरिरहेको प्राइभेट इक्विटी एवम् भेन्चर क्यापिटल कोष संचालक संस्था हो।
आध्यन्तले उद्यमी र उद्यमहरूका लागि पुँजी परिचालनको नयाँ प्रणालीको सुरुवात गर्ने उद्देश्य राख्दछ।
यसले लगानीलाई उद्यमीहरूको पहुँचमा ल्याएर सँगै जोखिम मोल्ने र व्यवसायको हरेक चरणमा उनीहरूलाई सहायता प्रदान गर्दै नेपालको सबैभन्दा ठूलो र प्रभावकारी कोष परिचालन प्लेटफर्म बन्ने लक्ष्य राखेको छ।
साथै लगानीलाई सुलभ र आकर्षक बनाएर नेपाललाई मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने तर्फ समेत आध्यन्तले काम गरिरहेको छ ।