
२०७९ सालको कात्तिकसम्म ७ चलचित्रहरू सफल भएका थिए । ७ महिनामा ७ चलचित्र सफल हुनु विगतका वर्षको तुलनामा सुखद् हो ।
त्यसयता लामो समयसम्म कुनै पनि नेपाली चलचित्र राम्रो चलेका छैनन् ।
वैशाखमा प्रदर्शनमा आएको अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर–४’ले लगानी सुरक्षित गर्यो । जेठमा प्रदर्शनमा आएको ‘कबड्डी–४’ले सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रको रेकर्ड बनायो ।
दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर स्टारर चलचित्रले नेपालमा २२ करोड बढीको कमाइ गरेको थियो । त्यसपछि केही समय लगातार चलचित्रहरू असफल हुँदै लगानी गुमाएका थिए ।
भदौमा प्रदर्शनमा आएको केकी अधिकारी र आँचल शर्मा अभिनित चलचित्र ‘झिँगे दाउ’ भने लगानी उठाएर नाफामा जान सफल रह्यो ।
असोजमा प्रदर्शनमा आएको प्रदीप खड्का र क्रिष्टिना गुरुङ अभिनित ‘प्रेम गीत ३’ सफल साबित भयो । नेपालसहित विश्वव्यापी प्रदर्शनमा आएको चलचित्र पनि हलबाटै लगानी उठाएर नाफामा जान सफल रह्यो ।
असोजमै अर्को चलचित्र ‘दुई नम्बरी’ पनि सफल भयो । दयाहाङ राई र सौगात मल्ल अभिनित चलचित्र पनि लगानी उठाएर नाफामा जान सफल रह्यो ।
कात्तिकको पहिलो हप्ता प्रदर्शनमा आएको दयाहाङ राई, विपिन कार्की अभिनित ‘के घर के डेरा’ले पनि लगानी उठायो ।
यसपछि रिलिज भएको हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘महापुरुष’ले पनि बक्स अफिसमा राम्रो ग्रस कलेक्सन गर्न सफल रह्यो । केही हलहरूमा चलचित्रले प्रदर्शनको गौरवमय ५१औं दिन समेत मनायो ।
त्यसयता नेपाली चलचित्रहरू फेरि राम्रो चलेका छैनन् । यसबीचमा थुप्रै नेपाली चलचित्रहरू प्रदर्शनमा आइसकेका छन् तर एकपछि अर्को नेपाली चलचित्रहरू लगातार रूपमा असफल भइरहेका छन् । जसका कारण चलचित्रकर्मीहरू फेरि निराश देखिएका छन् ।
‘स्टार’कै फिल्मले पनि पाएनन् दर्शक
‘महापुरुष’यता दर्शक तान्न सक्ने भनिएका चलचित्रहरू प्रदर्शनमा आउँदा समेत हल सुनसान देखिए । पुसको १५ गतेदेखि आर्यन सिग्देल र उपासना सिंह ठकुरी अभिनित चलचित्र ‘डिसेम्बर फल्स’ प्रदर्शनमा आएको थियो ।
आर्यन झण्डै ३ वर्षपछि चलचित्रमा देखिएका छन् । उपासनाको गत असोजमै ‘दुई नम्बरी’ चलचित्र हिट भएको थियो । यसर्थ कलाकारहरूका कारण पनि ‘डिसेम्बर फल्स’ले राम्रो हाइप बनाएको थियो तर यो चलचित्र राम्रो चल्न सकेन अर्थात् घाटामा गयो ।
पुसको २२ गते मल्टिस्टारर चलचित्र ‘चि मुसी चि’ प्रदर्शनमा आयो । प्रियंका कार्की, ऋचा शर्मा, वेनिशा हमाल, आयुष्मान देशराज जोशी जस्ता स्थापित कलाकारहरू भएको हरर जनराको यो चलचित्रले पनि राम्रो हाइप बनाएको थियो ।
कलाकारहरूले पनि चलचित्रलाई दर्शकहरूले रुचाउने र सफल हुनेमा दाबी गरेका थिए तर अफसोच ! यो चलचित्र हेर्न पनि हलसम्म अपेक्षित दर्शक गइदिएनन् अर्थात् चलचित्रले लगानीको सानो हिस्सा पनि उठाउन सकेन ।
गत हप्ता ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ गरेर २ नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आए । यी दुवै चलचित्रले पनि राम्रो हाइप बनाएका थिए । ‘तिम्रो मेरो साथ’को मोसफल यात्रामा साम्राज्ञी र पुष्पलाई हेर्न दर्शकको बाक्लो भीड लागेको थियो तर चलचित्र हेर्न दर्शकहरू हलसम्म आइदिएनन् ।
यता ‘गुञ्जन’का निर्माताले चलचित्र दर्शकलाई मन पर्ने दाबी गर्दै मन नपरे टिकटको पैसा फिर्ता गरिदिने घोषणा गरेका थिए । यद्यपि उनको चलचित्र हेर्न दर्शकहरूले चासो देखाएनन् । दर्शकको खडेरीका कारण यी दुवै चलचित्रहरू प्रदर्शनको केही दिनमै अधिकांश हलबाट उत्रिसकेका छन् ।
प्रदर्शनको लाइन अपमा रहेका चलचित्रहरू थुप्रै छन् । यही महिना प्रदर्शनमा आउने जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘ह्यारी कि प्यारी’ले पनि राम्रो हाइप बनाएको छ ।
‘तिम्रो मेरो साथ’ राम्रो नचलेपछि साम्राज्ञी पनि यतिबेला ‘ह्यारी कि प्यारी’को प्रचारप्रसारमा निकै जोडतोडले लागिपरेकी छन् ।
फागुन ५ गते प्रदर्शन हुने भनिएका ‘फूलबारी’ र ‘परदेशी २’ पनि आशा गरिएका चलचित्रहरू हुन् । यद्यपि ‘परदेशी २’ निर्धारित मितिमा प्रदर्शनमा आउने/नआउने भन्नेमा द्विविधा छ ।
फागुनको १९ गतेलाई प्रदर्शन मिति तोकिएको दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा ४’ र अनमोल केसी अभिनित ‘छड्के २’ले राम्रो हाइप बनाएका छन् । त्यसपछिका केही चलचित्रहरूलाई लिएर पनि आशा गरिएको छ । नयाँ वर्षका लागि पनि केही आशा गरिएका चलचित्रहरूले प्रदर्शन मिति तय गरिसकेका छन् तर राम्रो हाइप र स्टार कलाकार रहेका चलचित्रहरू चल्छन् भनेर ठोकुवा गर्न सक्ने अवस्था भने रहँदैन । किनकि राम्रो हाइप र ‘स्टार’ कलाकारहरू भएकै केही चलचित्रहरू यसअघि पनि असफल भएका छन् ।