
अष्ट्रेलिया जाने नेपालीलाई अब नेपालबाटै सूचना प्रविधि (आईटी) अन्तर्गत सफ्टवेयर तथा वेब डेभलपेन्टको तालिम शुरू भएको छ ।
यसका लागि अष्ट्रेलियामा रहेको डेन्टेड कोडले अब नेपालमा सफ्टवयर एवं वेब डेभलपमेन्ट ‘बुटक्याम्प’ सुरु गरेको छ । हाल अनलाइनमा आधारित भएर दिने यस्तो तालिमसँगै नेपालमै कार्यालयसमेत स्थापना गरेरै तालिम दिने भएको छ । यो तालिमपछि अष्ट्रेलिया जाने आईटीमा रुची भएका र आईटी क्षेत्रका विद्यार्थीका लागि आकर्षक कमाइको अवसर दिन सहयोग पुग्ने भएको छ ।
डेन्टेड कोड एकेडेमीमार्फत दिइने यस्तो तालिमबाट अष्टेलिया गएर छोटो समयमा नै आकर्षक कमाइ गर्न, छिट्टै आफूलाई स्थपित गर्न र वेरोजगार हुनुपर्ने चिन्ताबाट यस्तो तालिमले सहयोग गर्ने छ । यस्तो तालिम मासिक, वार्षिक तथा लाइफटाइम गरी तीनवटा प्याकेजमा दिइने डेन्टेड कोडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रेम आचार्यले बताए ।
आचार्यले भने ‘आईटीबाट ग्र्याजुएट भएका, अन्य संकायबाट ग्र्याजुएट भए पनि यही क्षेत्रमा भविष्य बनाउन चाहनेका लागि तालिम उपयुक्त हुने छ । सफ्टवयर डेभलपर वा वेब डेभलपर बन्न चाहने जोसुकै नेपालीलाई उपयुक्त हुने गरी तालिम दिइने छ ।’ डेन्टेड कोडले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेरै आफ्ना योजना र कार्यक्रमको जानकारीसमेत दिएको छ ।

डेन्टेड कोडले अष्ट्रेलिमा रहेका नेपालीलाई फुल स्किल्ड सफ्टवयर डेभलपर बनाउन सहयोग गरिरहेको छ । जसको सहयोगले तालिम लिएका नेपालीले न्यूनतम वार्षिक ७० हजार डलर कमाउने गरेको पनि डेन्टेड कोडका सफ्टवेयर इन्जिनियर मदनमणि अधिकारीले बताए ।
उनले भने ‘हामीले अष्ट्रेलियाको आप्रवासी समुदायमा सबैभन्दा अब्बल नेपाली समुदायलाई बनाउने प्रयास गरिरहेका छौ । यसले दिने तालिमपछि अष्ट्रेलिया नै जानुपर्छ भन्ने नभइ नेपालमै बसेर पनि विदेशी कम्पनीहरूमा आबद्ध भइ काम गर्न सकिन्छ ।’ यो तालिमले सक्षम जनशक्ति तयार हुने हुँदा अष्ट्रेलिया जानेका लागि उपयुक्त त भइहाल्यो नेपालमै बसेर दूर दराजबाट पनि विदेशी कम्पनीसँग काम गरेर आकर्षक कमाइ गर्न सकिने अधिकारीले बताए ।
विद्यार्थी भिसा लगाएर जाने नेपालीले भोग्नु परेको दुःख, स्थापित हुन गर्नुपरेको संघर्ष, आवश्यक सीप र दक्षता नहुदा स्थापित हुनै नसक्ने अवस्थाका नेपालीलाई दृष्टिगत गरेर यस्तो तालिम सुरु गरेको डेन्टेड कोषले जानकारी दिएको छ ।
डेन्टेड कोडले आईटीमा भविष्य बनाउन चाहनेहरूलाई दिने यस्तो तालिमबाट सक्षम सफ्टवेयर इन्जिनियर बनाउन सहयोग पुर्याउने पनि उल्लेख छ ।