०८ साउन २०८३, शुक्रबार

स्वास्थ्य चौकीमै छैन सिटामोल

स्वास्थ्य चौकीमै छैन सिटामोल
प्रतिकात्मक तस्वीर

जाजरकोटको जुनिचाँदे गाउँपालिकामा ५ महिनादेखि औषधि सकिएको छ तर अहिलेसम्म पनि खरिद गरिएको छैन ।

एउटा प्राथमिक स्वास्थ्य केन्द्र, ३ स्वास्थ्यचौकी, ७ आधारभूत स्वास्थ्य केन्द्र र ११ सामुदायिक स्वास्थ्य इकाइ रहेको जुनिचाँदेमा ५ महिनादेखि औषधि अभाव भएको हो ।

२० लाखभन्दा बढीको औषधि खरिद गर्दा बोलपत्र आह्वान गर्नुपर्ने भए पनि पटक–पटक ‘कोटेसन’ गरेर औषधि खरिद गरेको पाइन्छ तर यहाँ ५ महिनादेखि औषधि अभाव भएको छ ।

२ पटक थोरै परिमाणमा औषधि बोलपत्र आह्वान नगरी ल्याइएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर शाहीले बताए । ‘औषधि छिट्टै आउँदैछ, स्वास्थ्य संयोजक काठमाडौंबाट आएपछि बाँड्ने योजना छ,’ उनले भने ।

बिरामीलाई स्वास्थ्यकर्मीहरूले औषधि नदिने र सिटामोल लगायत अन्य औषधिहरू समेत निजी मेडिकलबाट किनेर खानुस् भनेर पठाउने गरेको स्थानीय बताउँछन् । जुनीचाँदे–११ का कैलो नेपालीले दमले सताएपछि औषधि लिन स्वास्थ्य चौकी कोर्ताङ्ग जाँदा औषधि विना नै फर्किनुपरेको बताए ।

उनले भने, ‘स्वास्थ्य संस्थाका नानीहरूले मेडिकलबाट औषधि किनेर लिनु भनेका थिए, पैसा नभएपछि खाली हात घर फर्किएँ ।’

प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा भेटिएका जुनिचाँदे–४ का सकरे खड्काले स्वास्थ्य केन्द्रले सिटामोल समेत नदिएको गुनासो गरे । केही दिनदेखि रुघाखोकी र ज्वरोले ग्रसित बनेका खड्काले भने, ‘उपचार गर्न आएको थिएँ, डाक्टरले सिटामोल समेत दिएनन् ।’

चिसोका कारण रुघाखोकी र ज्वरोले ग्रसित बन्न थालेपछि उपचारका लागि स्वास्थ्य संस्था जाने र खाली हात फर्किने कैलो र सकरे जस्तै धेरै बिरामी छन् ।

salt training

कमेन्ट गर्नुहोस्