“बिजुली” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक जनक ताम्राकारको स्वरमा सार्वजनिक भएको यो गीतमा महेश ताम्राकारको शब्द र संगीत रहेको छ । सिन्धुलीका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडल तथा नायक निराजन प्रधान र नायिका उपासनासिंह ठकुरीको अभिनय देख्न सकिन्छ ।
गीतको भिडियोमा निराजन र उपासनाको रोमान्टिक अवतार हेर्न सकिन्छ । भिडियोले काम गर्दैगरेको बखत विज्ञापनमा देखिएकी मोडललाई गरेको प्रेम कथालाई देखाइएको छ । उपासनाको यो पहिलो म्युजिक भिडियो हो । उनले फिल्ममा मात्रै अभिनय गदैआएकी थिइन् । निराजन भने पछिल्लो समयका व्यस्त मोडल हुन् ।
एकपछि अर्को सफल म्युजिक भिडियोमा अभिनय दिइरहेका निराजनले उपासनासँग भिडियोमै जोडी बाध्न सफल भएका छन् । सार्वजनिक गीतको भिडियोलाई हरि हुमागाइँले निर्देशन गरेका हुन् । थुप्रै म्युजिक भिडियो निर्देशन गरेका हुमागाइँले यस पटक पनि भिडियोमा एउटा फरक कथा बुनेका छन् ।
भिडियोमा उत्तम हुमागाइँको छायांकन रहेको छ ।
प्रविन मानन्धरको वीएफएक्स, कलरिङ र सम्पादन रहेको छ । यस्तै, भिडियोमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ भने उदयराज पौडेलको एरेन्ज, शैलेन्द्र एम प्रधान (बाबु) को मिक्सिङ मास्टरिङ रहेको छ ।