
नेपाल उड इन्टरनेशनल एक्स्पो तथा नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर इन्टरनेशनल एक्स्पो ८ औं वर्ष माघ १३ देखि १५ गते काठमाडौंंको भृकृटीमण्डपमा आयोजना हुने भएको छ।
मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले संयुक्त रुपमा आयोजना गर्दै आइरहेको आयोजनामा विभिन्न देशका १०० भन्दा बढी ख्यातिप्राप्त ब्राण्डहरूका स्टल तथा यस क्षेत्रमा कार्यरत व्यवसायी तथा संस्थाहरुको व्यापक सहभागिता रहने जनाइएको छ।
प्रदर्शनीको आज (माघ १३) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका छन्।
फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरूले काठ व्यवसायसम्बन्धी उत्पादनबारे जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ नयाँ प्रविधिबारे जानकारी गराउन यो प्रदर्शनी ७ वर्षदेखि कोशेढुंगा सावित हुँदै आएको छ ।
यस ८ औं नेपाल उड प्रदर्शनीमा आयोजकहरूले संसारभरका ख्यातिप्राप्त कम्पनी तथा ब्राण्डलाई नेपाली बजारमा आएर भविष्यलक्षित वस्तु तथा टेक्नोलोजीलाई नेपाली उद्योगहरूमा प्रयोग गराउन एउटा पहलका रूपमा लिएका छन् ।
यस प्रदर्शनीले सानादेखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेशिनहरूलाई उन्नयन गर्दै अझ बढी प्रभावकारी बनाउन मद्दत गर्नेछ ।
यस प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फर्निचर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्याउने आयोजकले विश्वास राखेको छ।
यस प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरिकबाहेक नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर तथा इन्टेरियर डिजाइनरहरूको सहभागिता रहने छ ।
यस प्रदर्शनीले नेपालको काठ तथा फर्निचर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने आयोजकको विश्वास छ।
साथै यस प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादनसम्बन्धी कार्यहरूमा पनि सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।