
विगत पाँच दिनदेखि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित मालपोत कार्यालयको कामकाज बन्द हुँदा सेवाग्राही मारमा परेका छन् ।
गत बुधबारदेखि नै मालपोत महोत्तरीमा आबद्ध करिब दुई सय लेखापढी कानून व्यवसायीहरू (लेखनदास)ले मालपोतमा हुने कागजपत्रको लेखापढी बन्द गरेका कारण सेवाग्राहीको कामकाज हुन नपाउँदा उनीहरू मारमा परेका हुन् ।
लेखापढी कानून व्यवसायीले मालपोतमा सेवाग्राहीलाई आवश्यक पर्ने राजीनामा, जग्गापास, नामसारी, अंशबन्डा, रोक्का, रोक्का फुकुवालगायतका सबै लेखपढ गर्नुपर्ने कागजी कामकाज गत बुधबारदेखि ठप्प परेका छन् । बुधबार जिल्ला प्रहरीले मालपोत कार्यालयबाट पाँच बिचौलियालाई पक्राउ गरेपछि मालपोतमा काम गर्ने लेखापढी कानून व्यवसायीले पक्राउ परेका पनि लेखापढी कानून व्यवसायी रहेको भन्दै उनीहरूलाई निःशर्त छाड्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका थिए । शुक्रबार प्रहरीले उनीहरूलाई रिहा गरिसक्दा पनि व्यवसायहीहरू अझै काममा फर्किएका छैनन् भने मालपोतको कामकाज आज पाँचौँ दिन पनि ठप्प रहेको छ ।