
चीनको विशाल प्रविधि कम्पनी बाइडुले ओपनएआईको अत्यधिक लोकप्रिय च्याटबोट च्याटजीपीटी जस्तै बोट ल्याउने भएको छ ।
इन्ह्यान्स्ड रिप्रेजेन्टेसन थ्रु नलेज इन्ग्रिेसन (अर्नी) बोट अन्लाइन जानुअघिको परीक्षण चलिरहेको बाइडुले चिनियाँ पत्रिका ग्लोबल टाइम्सलाई बताएको छ ।
गत सेप्टेम्बर महिनाबाट बनाउन थालिएको कृत्रिम बौद्धिकताबाट शक्तिप्राप्त बोट मार्च महिनादेखि लाइभ हुनेछ । तर त्यसअघि नै कम्पनीले यसको बिटा टेस्टिङ गर्न सकिने जनाएको छ । च्याटजीपीटीको प्रोग्रामिङका लागि उपयोग भएको प्रविधिमा आफ्नो पहुँच पुगेको बाइडुको भनाइ छ ।
बाइड्ले च्याटजीपीटीको प्रशंसा गर्दै कृत्रिम बौद्धिकताको विकासमा यो कोशेढुंगा भएको बताएको छ ।
ग्लोबल टाइम्सका अनुसार, बाइडुलाई प्राकृतिक भाषा प्रोसेसिङमा बढी सहजता हुन सक्छ । उसले चीनको सबभन्दा बढी लोकप्रिय सर्च इन्जिन दुई दशकदेखि चलाउँदै आएकाले मानिसहरू भाषाको प्रयोग कसरी गर्छन् भन्ने विषयमा उसलाई बढी ज्ञान छ ।
चिनियाँ बजारमा बाइडुको अग्रता रहेकाले अर्नीका सर्जकहरूले चिनियाँ भाषा, वातावरण र बजारमा बढी ध्यान केन्द्रित गर्नेछन् । उनीहरू विश्व बजारमा त्यति ध्यान दिने छैनन् भनी उद्योग विश्लेषक ल्यु डिङडिङले ग्लोबल टाइम्सलाई बताए ।
च्याटजीपीटी अहिले चीनमा उपलब्ध छैन । तर अन्य चिनियाँ कम्पनीहरूले पनि आफ्नै किसिमका एआई च्याटबोट विकसित गरिरहेका छन् ।