
मेन्छियाम हाइड्रोपावर लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले फागुन १० गतेदेखि आयोजना पीडित क्षेत्रका वासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ४२ लाख ५८ हजार ३०० बराबरको प्रतिशेयर १०० दरका ५ लाख ४२ हजार ५८३ कित्ता शेयर आयोजना पीडित क्षेत्र संखुवासभावासीका लागि निष्कासन गर्न लागेको हो । त्यसमा पनि अतिपीडित संखुवासभाको साबिक सिद्धिकाली, सिद्धपोखरी र मावादिन गाविसका वासिन्दामा २ लाख ७१ हजार २९२ कित्ता र त्यसबाहेक संखुवासभाका वासिन्दामा २ लाख ७१ हजार २९१ कित्ता छुट्याइएको छ ।
सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुने १ लाख ८ हजार ५१७ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीहरूका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ ।
स्थानीय लगानीकर्ताले शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन । जसमा आयोजना पीडित क्षेत्रका वासिन्दाका लागि निष्कासन बन्द छिटोमा फागुन २५ गते हुनेछ भने ढिलोमा आगामी चैत ९ गते हुने कम्पनीले जनाएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम १० हजार कित्ताका लागि फागुन २५ गतेभित्र आवेदन दिनुपर्नेछ । स्थानीय वासिन्दाले आयोजना स्थलमा रहेको कम्पनीको कार्यालय, मादी नगरपालिका–७, चैनपुर नगरपालिका–३ मा रहेको रेडक्रस भवन, एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबीआई बैंकले तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू र अनलाइनबाट ‘मेरो शेयर’मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर नेपालले ‘केयर एनपी बिबी इस्युअर’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीले संखुवासभामा ४ दशमलव ७२ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।