२० असार २०८३, शनिबार

असइ थमन विक हत्या प्रकरण- पूर्वसांसद कोइरी एमाले कार्यालय परिसरबाटै पक्राउ

असार १९, २०८३
काठमाडौं
असइ थमन विक हत्या प्रकरण- पूर्वसांसद कोइरी एमाले कार्यालय परिसरबाटै पक्राउ

नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२ का लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ । 

बुधबार उच्च अदालत जनकपुरधामले सशस्त्र प्रहरीका असइ (सशस्त्र प्रहरी सहायक निरीक्षक) थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय फैसला गरेलगत्तै कोइरीलाई प्रहरीले बिहीबार साँझ गौशाला–५ स्थित एमाले पार्टी कार्यालय परिसरबाट पक्राउ गरेको हो ।

कोइरीलाई अदालतको फैसलाअनुसार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले पुष्टि गरे ।

यसअघि महोत्तरी जिल्ला अदालतले २०८० साल मङ्सिर २८ गते गरेको यसै मुद्दाको फैसलामा कोइरीलाई सफाइ दिइएको थियो । मुद्दा चलिरहेकै बेला २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–१ मा नेकपा (एमाले)बाट  निर्वाचित कोइरी यसपालि गत फागुनको चुनावमा पनि उम्मेदवार थिए । कोइरी यसपालि पराजित भए ।

एमालेको मधेश प्रदेश कमिटी सदस्य रहेका कोइरीलाई पक्राउ गरी बिहीबार नै जिल्ला सदरमुकाम जलेश्वर पुर्याइएको छ । 

सशस्त्र प्रहरीका असइ विकलाई २०७२ भदौमा मधेश आन्दोलन जारी रहेका बेला जलेश्वरको सडकमै निर्घात कुटपिट गरिएको थियो । 

जलेश्वरमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि एम्बुलेन्समा जनकपुर लैजाँदै गर्दा बाटो ढुकेर बसेका केही व्यक्तिले उनलाई झारेर कुटीकुटी गरी हत्या गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्