
महाशिवरात्रिका अवसरमा काठमाडौंको महाशिवरात्रि मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।
पशुपति क्षेत्र विकास कोषले आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ क्षेत्रका ४ ढोका खोलेको छ ।
यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिन मात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।
यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । पशुपति क्षेत्र वरपर झिलिमिली बनाइएको छ । विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ ।
यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि बाहिर ३ र भित्र ५ वटा लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै ४ शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट १/१ लाम गरी बाहिरी रूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
यसैगरी तिलगंगा राममन्दिरतर्फ समेत आवश्यकता अनुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उनले बताए । नित्य दर्शनार्थीका लागि बिहान ७ बजे अगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ, सोहीमार्ग हुँदै मन्दिर प्राङ्गणबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।
दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगंगा, गुह्येश्वरी पारि, कोषको कार्यालय, वनकाली लगायतका स्थानमा व्यवस्था मिलाइएको छ ।


