
नेपाल दूरसञ्चार प्राधिकरणले दिएको शर्तविपरीत नेपाल टेलिकमले डेढ महिनादेखि फाइभजी परीक्षण गरिरहेको छ ।
नियामक निकायले सबै उपभोक्तालाई परीक्षण गर्नु भनेको भए पनि टेलिकमले भने आन्तरिक रूपमा मात्रै फाइभजी परिक्षण गरेको हो ।
टेलिकमले सीमित कर्मचारीलाई सीमित डिभाइसमा प्रयोग गर्ने गरी सुन्धारा र बबरमहलबाट मात्रै फाइभजी परीक्षण गरेको पाइएको छ ।
यस्तो परीक्षण टेलिकमले आन्तरिक रूपमा गरेको भए पनि कुनै औपचारिक जानकारी भने सार्वजनिक पनि गरेको छैन ।
टेलिकमले गरेको फाइभजी परीक्षणको दायरा बढाउन नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अनुरोध गरेका छन्।
प्राविधि पत्रकार मञ्चले बिहीबार राजधानीमा आयोजना गरेको नेपालमा 'फाइभजीको चुनौती र अबको बाटो' विषयक कार्यक्रममा टेलिकमले गरेको फाइभ जीपरीक्षणमा भएको कमजोरी सार्वजनिक भएको हो । हाल टेलिकम क्षेत्रमा एनसेल र टेलिकम प्रमुख प्रतिस्पर्धी भए पनि यो सुविधा भने टेलिकमले मात्रै पाएको छ ।
टेलिकममले भने डिभाइस, मोबाइल सेट र जनशक्तिसहित समस्या देखाएको छ ।
टेलिकमका उपनिर्देशक सुजित आनन्द मल्लले नेपालमा फाइभजी सपोर्ट गर्ने डिभाइस नभएको र टेलिकमले पूर्ण तयारी गरेर मात्रै आम उपभोक्तालाई सेवा दिने भएकोले ढिलो भएको बताए । उनका अनुसार अहिले बजारमा फाइभजी सपोर्ट गर्ने साओमीको मात्रै सेट रहेको बताए । थप मोबाइल सेटमा फाइभजी चलाउन आवश्यक तयारी भइरहेको पनि बताए ।
फोरजीभन्दा उच्च पावर लाग्ने सिस्टम बनाउनुपर्ने र सेवा दिने भेण्डर पनि छनोट गर्नुपर्ने भएकोले ढिलो भएको मल्लले स्वीकार गरे ।
उनले आम जनताबाट गाली नखाने गरी तयारी गरेर मात्रै सबैलाई फाइभजी टेस्ट गर्न दिने बताए। यसका लागि अब टेलिकमले आइफोन र अन्य सेटमा फाइभजी सपोर्ट गर्ने गरी आन्तरिक तयारी भएको पनि बताए ।
नियामकले फोरजी र फाइभजी दुवैमा एनसेलाई बिभेड गरेको एनसेलका चिफ आईटी अफिसर विशाल उपाध्यायले बताए । उनले आफूलाई पनि फाइभजीको परीक्षण गर्न दिन आग्रह गरे ।