
उच्च अदालत पोखराले सफाइ दिएसँगै अभिनेता पल शाह सोमबार जिल्ला कारागार तनहुँबाट रिहा भएका छन् ।
बाहिर जम्मा भएको भीडलाई अभिवादन गर्दै कारागारबाट निस्किएका उनले आफूलाई माया गर्ने सबैलाई धन्यवाद दिए ।
रिहा हुँदै गर्दा उनले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘सबैलाई धन्यवाद भन्न चाहन्छु ।’
छोटो कपाल, आँखामा कालो चस्मा, गलामा फूलमाला, अनुहारमा अबिरले रंगीएका उनी खुशी देखिन्थे ।
उनलाई हेर्न र उनीसँग सेल्फी खिच्न चाहानेहरुको कारागार परिसरमा बाक्लो भीड देखिन्थ्यो ।
भीडभाडबाट केही युवतीहरूले पल आई लभ यू भनेको समेत सुनिन्थ्यो। ‘पल शाह हाइ हाइ’ लगायतको नारा समेत लागेको थियो ।
बहिनी रोशनी शाह लगायत परिवारका सदस्य र नजिकका साथीहरूबाट घेरिएका उनी सेतो कारमा चढेर त्यहाँबाट निस्किए । पल त्यहाँबाट पोखरातर्फ लागेका छन् ।
एकदिन पोखरामा बसेर मंगलवार मात्रै उनी काठमाडौं फर्किने पारिवारका सदस्यले बताएका छन् । त्यहाँबाट बाहिरिँदै गर्दा पलले कलाकारितासँगै सामाजिक काममै आफू सक्रिय हुने बताएका थिए ।
एक नाबालिगलाई बलात्कार गरेको आरोपमा उनीविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा चलेको थियो ।
जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध पलले उच्च अदालतमा पुनरावेदन दिएका थिए । जिल्ला अदालत तनहुँले भने उनलाई सफाइ दिएको थियो ।
गतवर्ष आजकै दिन जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका पल ठिक एक वर्षपछि रिहा भएका हुन्।