३२ असार २०८३, बिहीबार
मुलुकको नयाँ राष्ट्रपति

रामचन्द्र पौडेल : पहिला उपेक्षा, गुट फेरेर देउवातिर लागेपछि राष्ट्रपति पदको पुरस्कार !

फागुन २५, २०७९
रामचन्द्र पौडेल : पहिला उपेक्षा, गुट फेरेर देउवातिर लागेपछि राष्ट्रपति पदको पुरस्कार !

कांग्रेस नेता रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपति बनेका छन् । कार्यकाल गणना गर्दा भने उनी चौथो राष्ट्रपति हुन् ।

एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई १८ हजार २८४ मतले पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

पौडेलले ३३ हजार ८०२ मत पाउँदा नेम्वाङले १५ हजार ५१८ मत पाए ।

यसअघि पहिलो कार्यकालका लागि कांग्रेसकै डा. रामवरण यादव राष्ट्रपति चुनिएका थिए । त्यसपछि लगातार दुई कार्यकाल एमालेकी विद्या भण्डारी राष्ट्रपति बनिन् ।

कांग्रेस, माओवादी केन्द्र, रास्वपा, जसपा, नेकपा एस, लोसपा, जनमत, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गरेपछि पौडेल सहजै राष्ट्रपति निर्वाचित भएका हुन् ।

को हुन् पौडेल ?

२००१ साल असोज २९ गते बुवा दुर्गाप्रसाद पौडेल र आमा ऋषिमाया पौडेलको सन्तानका रूपमा (तनहुँको मिलुङ, बाहुनपोखरा, हालको व्यास नगरपालिका– ८) जन्मिएका पौडेल ७९ वर्षका भए ।

पछि सविता पौडेलसँग विवाह गरेका पौडेलका चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा र अवज्ञा) तथा एक छोरा (चिन्तन पौडेल) छन् । पौडेलको स्थायी बसोवास व्यास नपा–२ अमरापुरी, दमौली हो भने काठमाडौंमा उनको बसोवास बोहोराटार बालाजुमा रहेको छ ।

मध्यम वर्गीय किसान परिवारमा जन्मिएका पौडेलले नेपाली साहित्यमा स्नातकोत्तर र संस्कृतमा शास्त्रीसम्मको अध्ययन गरेका छन् । २०१५ सालमा विद्यार्थी संगठनबाट कांग्रेससँग जोडिएका पौडेल त्यसयता निरन्तर पार्टीका विभिन्न जिम्मेवारीमा रहँदै आएका छन् ।

राजनीतिक जीवनमा २०१८ देखि २०६२ सम्म करीब १५ वर्ष उनले जेलमा बन्दी जीवन व्यतित गरेका छन् । त्यसलाई कांग्रेसभित्र ‘रामचन्द्रका १४ वर्ष वनबास’ भनेर भन्ने गरिन्छ । उनै पौडेलले अन्ततः राष्ट्रपतिमा बाजी मारेका हुन् ।  

शुरूमा २०१८ को भरतपुर काण्डको विरोधमा उत्रँदा गिरफ्तार गरी कारागार चलान गरिएको थियो । पछि रिहा भएलगत्तै कीर्तिपुर विश्वविद्यालयमा झोडा काण्डको विरोध गरी कार्यक्रम गर्दा २०२८ मा पुनः गिरफ्तार भई २०३२ सम्म जेल बस्नुपरेको थियो ।

पार्टीको केन्द्रीय राजनीतिमा भने उनी २०३४ सालबाट क्रियाशील छन् । ०३४ मा पहिलोपटक केन्द्रीय सदस्य बनेका पौडेल उपसभापति हुँदै २०७२ सालमा पार्टीको कार्यबाहक सभापति बनेका थिए । सभापतिमा पराजित भए पनि पार्टीको १३ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेको जश उनलाई जान्छ ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल

२०४७ पछिका आमनिर्वाचनमा ६ पटक (वि.सं. २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७९)मा तनहुँबाट प्रतिनिधि सभा तथा संविधानसभा सदस्य निर्वाचित भए । उनी २०७४ सालको निर्वाचनमा मात्रै पराजित हुन पुगेका थिए ।

पौडेल पहिलोपटक स्थानीय विकास मन्त्री, त्यसपछि कृषि तथा सहकारी, उपप्रधान तथा गृहमन्त्री, सञ्चार मन्त्री, जलस्रोत मन्त्री, शिक्षा मन्त्री र शान्ति तथा पुनः निर्माणमन्त्री बनिसकेका छन् । उनी २०५१ सालको प्रतिनिधिसभामा सभामुख बनेका थिए ।

जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ तथा मानवअधिकारसम्बन्धी विभिन्न पुरस्कारबाट पुरस्कृत पौडेलका प्रजातान्त्रिक समाजवाद, आस्थाको यात्रा, कृषि क्रान्ति र समाजवाद, राजनीतिको मार्ग, नेपाली कांग्रेस रूपान्तरणको मार्गलगायत दर्जन पुस्तक र विभिन्न विषयमा लेख रचना प्रकाशित छन् ।

नेपाली कांग्रेसभित्रकै मध्यमार्गी नेताका रूपमा परिचित पौडेलले पार्टीका संस्थापक सभापति विश्वेश्वरप्रसाद कोइराला, सर्वमान्य नेता गणेशमान सिंह, संस्थापक नेता कृष्णप्रसाद भट्टराई र पछि सभापति गिरिजाप्रसाद कोइरालाको अत्यन्त निकट रहेर काम गरेका थिए । पार्टीका शीर्ष नेताहरूबीच विवाद हुँदा त्यसलाई मिलाउन मध्यमार्गी भूमिकामा पौडेल सधैं रहँदै आएका थिए ।

तत्कालीन विद्रोही नेकपा (माओवादी)सँग १२ बुँदे सहमति र शान्ति सम्झौताका पक्षपाति पौडेल पछिल्लोपटक ‘संविधानको रक्षा, प्रतिनिधि सभाको सुरक्षा’ भन्दै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन गरी चुनावमा जाने रणनीतिका सूत्राधार समेत हुन् । २०७९ मंसिर ४ को आम निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) मिलेर सरकार बनाउनु पर्छ भनेर निरन्तर लबिङ रहेका पौडेल पूर्व सहमति अनुसार प्रचण्डलाई पहिलो कार्यकाल सरकारको नेतृत्व दिनुपर्छ भन्नेमा दृढ थिए ।

पुस १० मा गठबन्धन टुटेपछि पौडेलले प्रचण्डका कारण गठबन्धन टुटेको हैन, कांग्रेसकै गल्ती हो भन्दै आएका थिए । त्यसयता पौडेल चुनावअघिको गठबन्धन बनाउन निरन्तर क्रियाशील थिए ।

कोइराला समूह छाडेर देउवातिर लागेपछि राष्ट्रपति

पौडेल कांग्रेसमा यसअघि सधैं देउवाविरोधी खेमामा रहँदै आएका नेता हुन् ।

यतिमात्रै होइन, ‘थरले पौडेल भए पनि म कोइराला हुँ’ भन्ने दाबी उनले गर्दै आएका थिए । कोइराला खेमाको विरासतको बलमा पार्टी नेतृत्वमा पुग्ने उनको चाहना थियो ।

सुशील कोइरालाको निधन भएपछि २०७२ साल फागुनमा भएको महाधिवेशनमा पौडेल देउवासँग पराजित भएका थिए । दोस्रो चरणको निर्वाचनमा कृष्ण सिटौला प्यानलले देउवालाई सघाउँदा पौडेल हार्न पुगेका थिए ।

सुशील कोइरालाको निधन भएपछि पूर्व संस्थापनमा विभाजन आउँदा देउवाले बाजी मारेका थिए । सभापतिमा प्रतिस्पर्धा गर्दा पौडेलले देउवा ‘मनी र मसल’को बलमा राजनीतिमा टिकेको टिप्पणी गरेका थिए ।

बीपी, गिरिजा, सुशील सबै कोइरालाको नजिक रहेर विश्वासिलो पात्र बन्दै आएका पौडेल १३ औं महाधिवेशनमा सभापतिमा देउवासँग पराजित हुन पुगेका थिए । 

शुरूमा कोइराला परिवारको उत्तराधिकारी हुँदासम्म पौडेलले कहिल्यै पनि सभापतिका लागि दाबेदार गरेनन् । उपसभापति र महामन्त्रीसम्म मात्र चित्त बुझाए । तर, न उनले पार्टी नेतृत्वको अवसर पाए, न सरकारको नेतृत्व नै । प्रधानमन्त्री बन्नका लागि संसदमा १७ पटकसम्म प्रयास गर्दा पनि असफल भएको नमीठो इतिहास उनको विगतसँग जोडिएको छ ।

१३ औं महाधिवेशनमा पूर्व संस्थापनका कृष्णप्रसाद सिटौला देउवा पक्षमा पुगेका थिए । तर १४ औं महाधिवेशनसम्म आइपुग्दा पौडेल नै कोइराला खेमामा रहेनन् ।

उम्मेदवारी मनोनयनका क्रममा पौडेलसहितका शीर्ष नेता

नेता प्रकाशमान सिंह पनि अन्ततः देउवा पक्षतिर लाग्न पुगे । आफू सभापतिको उम्मेदवार बन्ने अवस्था नआएपछि पौडेल शुरूमा तटस्थ बस्छु भनेका थिए । तर विस्तारै देउवा पक्षतिर खुल्दै गए । डा. शशांक कोइराला पनि पूर्व संस्थापनमा डा. शेखर कोइराला समूहमा देखिएनन् । कोइराला परिवारविरुद्ध पौडेलले नेतृत्व दाबी गरेको यही पहिलोपटक थियो ।

कुनै समय ‘हामी पनि कोइराला हौं’ भनेका उनै पौडेललाई सोही गुट छाडेपछि मात्रै सबैभन्दा ठूलो पद प्राप्त हुन पुगेको छ । १४ औं महाधिवेशनमा पूर्व संस्थापनले गरेको बेवास्तापछि बाध्य भएर पौडेल देउवातिर पुगेका थिए । यसरी गुट परिवर्तन गर्दा पौडेललाई मुलुककै सबैभन्दा ठूलो पदमा पुग्ने अवसर जुरेको हो ।

देउवा सभापति बन्नुअघि उनले कांग्रेसमा कहिल्यै गुटबन्दी गरेनन् । १३औं महाधिवेशनपछि भने केही समय उनले देउवाविरोधी खेमाको नेतृत्व गरेका थिए । सधैं शक्तिको वरिपरी रहँदा उनको स्वतन्त्र र स्थायी गुट भएन । 

उनी सधैं अरूको सहयोगी नेताको रूपमा मात्रै रहन पुगे । पार्टीमा सधैं तिरस्कारको पात्र बनेको महसूस गर्दै आएका पौडेल अन्ततः मुलुककै सर्वोच्च पदको पुरस्कार मिलेको छ ।

पार्टीमा समकालीन शीर्ष नेतामाथि अनेक आरोप लाग्ने गरे पनि पौडेल मध्यमार्गी, निष्पक्ष र पारदर्शी नेता मानिन्छन् । शीर्ष नेतामध्ये सैद्धान्तिक बहस गर्नेमा पनि पौडेल अरू भन्दा अगाडि छन् ।   

salt training

कमेन्ट गर्नुहोस्