
दर्जनौं हिट गीत दिएका अग्रज र सफल संगीतकार सुरेश अधिकारीले चलचित्र ‘छक्का पञ्जा ४’मा समावेश गीत ‘सिरूपाते जुंगामा’को प्रशंसा गरेका छन् ।
उनले उक्त गीतलाई नेपाली मौलिक र विशिष्ट शैलीको गीत भनेका छन् ।
फेसबुकमा गीतको भिडियो सेयर गर्दै उनले खुलेर प्रशंसा गरेका हुन् ।
आफूलाई ज्यादै कम गीतमात्र मनपर्ने बताउँदै संगीतकार अधिकारीले लेखेका छन्, – ‘अहिलेको चर्चित चलचित्र ‘छक्का पञ्जा ४’को यो गीतको स्थायीले पनि मन मुटु हरेको छ है मेरो । मलाई लाग्छ यो विशुद्ध नेपाली मौलिक र विशिष्ट शैलीको गीत हो ।’
बाबुल गिरीको संगीतमा अद्भुत नेपाली जादु पाएको उल्लेख उनले गरेका छन् ।
‘आवाज पनि यो संगीतलाई चाहिने मिठास बोकेको साह्रै कर्णप्रिय छ । शब्दमा पनि शंकर अधिकारी ‘घायल’ ज्यादै उम्दा लागे’ उनले अगाडि लेखेका छन् ‘‘सिरूपाते जुंगामा दाहिने हातको ताउ..’ वाह ! वाह ! अहिले यस्ता शब्द ज्यादै दुर्लभ भए । कहाँ पाउनु ?’
उनले गीतको सबै टिमलाई बधाई दिएका छन् । शंकर अधिकारी ‘घायल’को शब्द, बाबुल गिरीको संगीतसँगै स्वर रहेको गीतले युट्युबमा राम्रो भ्युज पाइरहेको छ ।
उक्त गीत केही दिनदेखि युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा छ ।