
सरकारको नियमित कार्यक्रमअन्तर्गत देशैभर कोरोना विरुद्धको बुस्टर खोप दिइँदैछ ।
कोरोना भाइरस कोभिड–१९ विरुद्धको दोस्रो बुस्टर डोज खोप इलाममा चैत्त ३ गतेबाट दिइने भएको हो ।
चैत ३ गतेदेखि चैत ७ गतेसम्म जिल्लाका सबै पालिकाका स्वास्थ्य संस्था र नियमति खोप केन्द्रमार्फत यो खोप दिइने भएको हो । स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यका अनुसार यो खोप सबैले लगाउन मिल्ने बताए ।
उनले १२ वर्षमाथिमा सबैलाई खोप दिइने बताए । गर्भवती महिला, दीर्घ रोगी लगायतले समेत यो खोप लगाउन मिल्छ ।
पहिलो र दोस्रो खोपको मात्रा लगाएकालाई मात्र बुस्टर डोजका रूपमा यो खोप लगाइन्छ । नियमित खोप लगाएकाका लागि यो चौथो डोज हो । पहिलो बुस्टर मात्रा खोप लगाएको छ महिना पूरा भएकालाई दोस्रो बुस्टर खोप दिइने उनको भनाइ छ ।
पहिलो बुस्टर डोज लगाएको ६ महिना पूरा भएका ५५ वर्षमाथिका फ्रन्टलाइनमा खटिने सबै नागरिकलाई यो खोप दिइने छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका वा त्यस्ता औषधि प्रयोग गरिरहेका ११ हजार ४९२ जना नागरिकलाई खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालय इलामका खोप अधिकृत गङ्गाधर पण्डितले जानकारी दिए ।
जिल्लामा १२ वर्षमाथिका ६३ हजार ४९३ जना नागरिकलाई पहिलो बुस्टर डोज लगाइने लक्ष्य लिएको छ । कोरोना भाइरसको संक्रमण घट्दै गएपछि खोप लगाउन समेत नागरिले वास्ता नगरेको पाइएको छ । दोस्रो खोप लगाएको ३ महिना पुगेकालाई पहिलो बुस्टर र पहिलो लगाएको ६ महिना पुगेकालाई दोस्रो बुस्टरको फाइजर बायोएनटेक खोप दिइने भएको छ ।
इलामका सबै स्थानीय तहका स्वास्थ्य संस्था र नियमित खोप केन्द्र गरी २२५ स्थानबाट यो खोप दिइने व्यवस्था मिलाइएको छ ।
विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त भएको यस खोपले कुनै असर नगर्ने भएकाले यस खोप लगाउन सकैलाई आह्वान गरिएको छ । इलाममा २ लाख १७ हजार ४७३ रहेकोमा पहिलो मात्राको खोप लगाउने संख्या १ लाख ९९ हजार ३८८ लाई लगाइएको छ ।
दोस्रो मात्राको खोप लगाउनेको संख्या १ लाख ८४ हजार ८१४ रहेको छ । पहिलो बुस्टर डोज लगाउने संख्या १ लाख २१ हजार ३२१ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।