१८ असार २०८३, बिहीबार

कैलालीका ६ हजार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिँदै

कैलालीका ६ हजार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिँदै
प्रतिकात्मक तस्वीर

कैलालीका करीब ६ हजार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको छ ।

यार्ड नेपालले जिल्लामा रहेका सामुदायिक तथा गुठी विद्यालयमा ९ कक्षासम्म अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको हो । 

यार्ड नेपालका अध्यक्ष वंशीराम चौधरीले विद्यार्थीले आर्थिक अभावका कारण विद्यालय छाड्नुपर्ने वातावरण नआओस् भन्नका लागि छात्रवृत्ति प्रदान गरिरहेको बताए । उनले ताइवानमा रहेको चुजी च्यारिटी फाउन्डेसनको आर्थिक सहयोगमा जिल्लाका ३ वटा पालिकामा छात्रवृत्ति वितरणको कार्यक्रम चलिरहेको बताए ।

उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कैलारी गाउँपालिकामा छात्रवृत्तिको कार्यक्रम चलिरहेको छ । उनले हालसम्म करीब २ हजार ५०० भन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिसकिएको जानकारी दिए । ‘नयाँ शैक्षिक सत्र आइरहेको छ, यो समयमा आर्थिक अभावकै कारण धेरैजसो बालबालिकाले विद्यालय छाड्ने अवस्था आउने गर्दछ,’ उनले भने, ‘त्यसैले यो समयमा बालबालिकालाई शैक्षिक सामग्री खरिद गरी विद्यालय छाड्नुपर्ने अवस्था नआओस् भन्नाका लागि हामीले छात्रवृत्ति वितरण गरिरहेका छौं ।’

उनले कापी कलम तथा ड्रेस किन्न नसक्दा विद्यालय छाडेर विदेशतिर जाने परिपाटीको अन्त्यका लागि कार्यक्रम फलदायी हुने विश्वास लिएको बताए । उनका अनुसार छात्रवृत्ति कार्यक्रमले विद्यार्थीमा पढ्ने हौसला समेत प्रदान हुनेछ । नेपाल सरकारको नियमअनुसार प्रत्येक विद्यालयमा स्थानीय पालिकाको समन्वयमा दलित, जनजाति, गरीब, जेहेन्दार तथा छात्रा विद्यार्थीको छनोट गरिएको चौधरीको भनाइ छ । 

प्रत्येक विद्यार्थीलाई छात्रवृत्तिस्वरूप १ हजार ५०० रुपैयाँ प्रदान गरिएको बताउँदै उनले थोरै रकम भए पनि केही हदसम्म विद्यार्थीका आवश्यकता परिपूर्ति हुने अपेक्षा लिएको बताए । शुक्रवार गोदावरी नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी गोदावरीमा छात्रवृत्ति वितरण कार्य शुरू गरिएको छ ।

नगर प्रमुख वीरेन्द्र भट्टको प्रमुख आतिथ्यमा दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयबाट छात्रवृत्ति वितरणको कार्य शुरू गरिएको छ । 

कार्यक्रममा नगर प्रमुख भट्टले शिक्षाको क्षेत्रमा एक मात्र नमूना विद्यालयका रूपमा रहेको दुर्गालक्ष्मीले गोदावरीलाई चिनाउने प्रयास गरिरहेको बताए । उनले देशको आर्थिक स्थिति जर्जर अवस्थामा हुँदा अपेक्षाअनुरूप आर्थिक संकलन नभइरहेको अवस्थामा छात्रवृत्ति प्रदान गर्दा विद्यार्थीलाई राहत हुने बताए । 

उनले आर्थिकमन्दीका समयमा बालबालिकाको उज्जवल भविष्यका लागि नयाँ शैक्षिक सत्रमा कपी किताब र ड्रेस किन्न छात्रवृत्तिको रकमले सहुलियत हुने विश्वास व्यक्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्