
डिजिटल बैंकिङमा आक्रामक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा प्रदान गर्ने तथा सचेतना कार्यक्रमसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।
उक्त सम्झौतामा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको तर्फबाट अध्यक्ष लिलेन्द्र प्रसाद प्रधान तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन्। उक्त हस्ताक्षर कार्यक्रममा बैंकका उच्च पदस्थ अधिकारी एंव पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
सम्झौतापश्चात् नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग आबद्ध पेट्रोल पम्पहरुले पीओएस क्युआरलगायत अन्य डिजिटल भुक्तानी उपकरणको प्रयोग गरि ग्राहकलाई बिक्री गरेको तेल खरिदको भुक्तानी डिजिटल प्लेटफर्म मार्फत सरल र विश्वासिलो तरिकाले लिने सुविधा प्रदान गर्नेछन् ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालाले ग्रीन इकोनोमीलाई टेवा पुर्याउने बैंकको रणनीतिअनुरुप बैंकले विभिन्न संघसंस्थासँग समन्वय गरी डिजिटल कारोबारको सम्झौता गरिरहेको जानकारी दिए।
उनले वास्तविक रुपमा डिजिटल्ली स्मार्ट बैंक बन्ने दीर्घकालीन लक्ष्यका साथ बैंकले परिमार्जित र परिस्कृत डिजिटल सेवा सुविधाहरु तथा सचेतना कार्यक्रमहरु आफ्ना ग्राहकलाई प्रदान गरिरहेको अवगत गराए।
त्यस्तै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष प्रधानले देशको वार्षिक झण्डै २ खर्बको तेल खरिद बिक्री कारोबारलाई डिजिटल कारोबारमा आबद्ध गराउन बैंकको पहलले समग्र अर्थतन्त्रको डिजिटल कारोबारमा सहयोग पुग्ने धारणा व्यक्त गरे।
साथै उनले पेट्रोलियम पदार्थको बिक्री गर्ने बिक्रेता एंव खरिद क्रेता दुवै पक्षले क्युआर कोड तथा अन्य डिजिटल माध्यमहरु खोज्ने हुँदा बैंकसँगको सम्झौतापश्चात् सहज र सरल रुपमा सेवाग्राहीलाई डिजिटल भुक्तानी सेवा पुग्नेमा आफू विश्वस्त रहेको बताए।
सम्झौतापश्चात् बैंकले विभिन्न चरणमा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग सम्बद्ध व्यक्ति तथा पेट्रोल पम्पहरुमा डिजिटल सचेतना कार्यक्रमहरु समेत सञ्चालन गर्नेछ ।
बैंकले डिजिटल सेवा प्रदान गरेसँगै दैनिक रूपमा उल्लेख्य मात्रामा नगद कारोबार हुने पेट्रोल पम्पमा खुद्रा पैसाको कारोबारको झन्झट, नक्कली नोटको कारोबार नियन्त्रण तथा नगद व्यवस्थापनमा सहज हुने विश्वास लिएको छ।
बैंकले डिजिटल कारोबारलाई बढावा दिने उद्देश्यका साथ विभिन्न समयमा विभिन्न योजनाहरु सञ्चालन गर्दै आएको छ ।
सोहीअन्तगर्त हाल बैंकले हरेक हप्ताको सोमबारका लागि मन्डे म्याडनेस योजना सञ्चालन गरिरहेको छ ।
जसअन्तर्गत हरेक सोमबार बैंकको डेबिट वा क्रेडिट कार्डको प्रयोग गरी पीओएस वा ई कोमबाट भुक्तानी गर्दा २३ प्रतिशत वा १२३ रुपैयाँ डेबिट कार्डमा र क्रेडिट कार्डमा २३ प्रतिशत वा २२३ रुपैयाँसम्म छुट पाउनेछन् ।
यो योजना हरेक सोमबार बिहान ७ बजेदेखि १० बजेसम्म कार्डबाट गरिएका कारोबारमा मात्र लागु हुनेछ ।