
अभिनेता प्रदीप खड्काले आफ्नो कम्पनी ‘प्रदीप मिडिया प्रालि’बाट नेवारी परम्परामा आधारित रहेर फिल्म निर्माण गर्ने भएका छन् ।
उनले ‘बार्हा सी’ नाममा फिल्म निर्माण गर्ने भएका हुन् ।
चलचित्र विकास बोर्डमा उक्त शीर्षकमा फिल्म दर्ता गर्दै प्रदीपले निर्माण इजाजत लिएका हुन् ।
नेवारी भाषामा राखिएको ‘बार्हा सी’शीर्षकको अर्थ नेवारी समुदायमा गुफा बस्ने चलन हुन्छ । शीर्षकअनुसार यो फिल्म मौलिक सामाजिक कथावस्तुमा बन्न लागेको आँकलन गर्न सकिन्छ ।
पहिलो पटक रजस्वला हुनुअघि वा भइसकेपछि नेवार समाजमा छोरीलाई ‘बार्हा’ राख्ने चलन छ । बार्हा राखिएकी छोरीले घर बाहिर जानु त टाढाको कुरा घाम समेत हेर्न पाउँदैनन् । पुरुषको छायाँ समेत हेर्नु हुँदैन भनेर आफ्नै दाजुभाइ तथा बाबुबाजेबाट पनि टाढा राख्ने गरिन्छ । बढीमा १२ दिनसम्म बार्हा राखिन्छ । यसकै कथावस्तुमाथि रहेर फिल्म ‘बार्हा सी’ बन्न लागेको बुझिएको छ ।
कथा मन परेर फिल्म दर्ता गरेको प्रदीपले बताएका छन् । स्रोतका अनुसार निर्माणको इजाजत लिएपनि तत्काल भने यो फिल्मको काम सुरु हुनेछैन ।
‘प्रकाश’बाट यसैसाता निफमा सर्वश्रेष्ठ अभिनेताको अवार्ड पाएका प्रदीपको रुचि पछिल्लो समय सामाजिक कथावस्तुका फिल्ममा पनि देखिएको छ ।
यतिबेला ‘कामिनो’ फिल्मको वर्कशपको व्यस्त प्रदीपको रिलिज भएको पछिल्लो फिल्म भने ‘प्रेम गीत ३’ हो ।