
नेपालमा जनसंख्याको वृद्धिदर लगातार ३० वर्षदेखि घट्न थालेको छ । तथ्यांक विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार नेपालको जनसंख्या २०६८ को तुलनामा २०७८ मा २६ लाख ७० हजार ७४ जनाले बढेको देखिएपनि वृद्धिदर भने कम हुँदै गएको देखिएको छ ।
तथ्यांक अनुसार परिवारमा अनुपस्थित (विदेश गएका) व्यक्तिको संख्या २१ लाख छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार जम्मा १५ लाख ५५ हजार ९ सय ६१ परिवारहरूबाट २१ लाख ९० हजार ५ सय ९२ जना विदेशमा अक्सर बसोवास गर्छन् ।
जसमध्ये पुरुष १७ लाख ९९ हजार ६७५ (८२.२ प्रतिशत) र महिला ३ लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) रहेका छन् । २०६८ को जनगणना अनुसार १९ लाख २१ हजार ४ सय ९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गरेका थिए ।
२०५८ मा जनसंख्या वृद्धिदर २.२५ प्रतिशत रहेको थियो । त्यसपछि २०६८ मा १.३५ र २०७८ मा ०.९२ प्रतिशत मात्रै जनसंख्याको वृद्धिदर रहेको तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ को जनगणनाको अन्तिम प्रतिवेदनले देखाएको छ ।
जनगणना अवधिको वार्षिक औषत जनसंख्या वृद्विदरको तथ्यांक अनुसार सबैभन्दा बढी वार्षिक औषत जनसंख्या वृद्धिदर भक्तपुरमा छ । भक्तपुरमा ३.३५ प्रतिशत र सबैभन्दा कम वार्षिक औषत जनसंख्या वृद्धिदर भएको जिल्ला रामेछापमा छ । रामेछापमा १.६७ प्रतिशतले जनसंख्या ऋणात्मक छ ।
