१० असार २०८३, बुधबार
उपनिर्वाचन

राष्ट्रपतिले खाली गरेको मैदानमा रोचक 'ब्याटल' : कसले जित्ला तनहुँ– १ को चुनाव ?

चैत २०, २०७९
राष्ट्रपतिले खाली गरेको मैदानमा रोचक 'ब्याटल' : कसले जित्ला तनहुँ– १ को चुनाव ?

तनहुँ– १ बाट चुनाव जितेका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि १० वैशाखमा हुन लागेको उपनिर्वाचनमा कडा टक्कर पर्ने भएको छ । 

पौडेलले ५ हजार ३८० मतान्तरले जितेको तनहुँ– १ मा कांग्रेसले अहिलेसम्म अवसर नै नपाएका युवा नेता गोविन्द भट्टराईलाई उम्मेदवार उठाएको छ ।

उनी नेविसंघका पूर्व सभापति एवं नेपाल तरुण दलका पूर्व उपाध्यक्ष हुन् । 

अर्थशास्त्रीको छवि बनाएका स्वर्णिम वाग्ले कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट भट्टराईविरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । एमालेले पूर्व आईजीपी एवं तनहुँ नै पुर्ख्यौली घर भएका सवेन्द्र खनाललाई उम्मेदवार बनाएको छ । 

तीन उम्मेदवारमध्ये कांग्रेसका भट्टराई र रास्वपाका वाग्ले आफ्नो जीवनमै पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका हुन् । 

नेपाल प्रहरीका पूर्व आईजीपी खनाल भने ४ मंसिरको निर्वाचनमा काठमाडौं– ६ मा एमालेबाट उम्मेदवार बन्दै पराजित हुन पुगेका थिए ।

खनाल रास्वपाका शिशिर खनालसँग पराजित भएका हुन् । 

रास्वपा खनालले १४ हजार २०४ मत पाउँदा पराजित एमालेका सर्वेन्द्रले ८ हजार ९११ मत मात्रै ल्याएका थिए । एमाले प्रवेश गरेपछिको पहिलो निर्वाचनमा खनालले ५ हजार २९३ मतान्तरले पराजय बेहोरेका थिए । 

तर, यसक्रममा खनालले कांग्रेसका अनुभवी नेता भीमसेनदास प्रधानलाई पछाडि छोडेका थिए । प्रधानले ८ हजार ८०५, राप्रपाका विष्णुप्रसाद आचार्यले १ हजार ९८० र स्वतन्त्रका सञ्जयमान श्रेष्ठले ५४६ मत आएको थियो । 

अहिलेसम्म अवसर नपाएका भट्टराईलाई कांग्रेसले उम्मेदवार बनायो । तर, त्यही दिन स्वर्णिम कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरे । लगत्तै स्वर्णिमको छनोटमा ४ मंसिरको निर्वाचनमा नयाँ दलका रूपमा उदाएको रास्वपा परेको हो ।

रवि लामिछानेको नेतृत्वमा खुलेको रास्वपा छोटो समयमै २० सीट जितेर सनसनी मच्चाएको थियो । यही आकर्षण देखेका स्वर्णिमले चटक्कै कांग्रेस छाड्नुले धेरैलाई आश्चर्यमा पारेको छ । 

बलियो जनाधार रहेको क्षेत्रमा एमालेले भने यसपटक स्थानीय अनुहार उठाउन चाहेन । बरु एमालेले तनहुँ जिल्लाबाट सिफारिशमा पारेरै सर्वेन्द्रलाई उम्मेदवार बनायो । 

सधैं हेबिवेट नेता रोजाइमा पर्दा अवसर नपाएका भट्टराईको वाग्ले र खनालसँग प्रतिस्पर्धा यसपटक रोचक हुने अनुमान गरिएको छ । 

रामचन्द्र पौडेल, गोविन्दराज जोशी, शंकर भण्डारी, प्रदीप पौडेलजस्ता नेता रहेको तनहुँ कांग्रेसमा यसपटक अवसर नपाएको भन्दै भट्टराईप्रति बढी नै सद्भाव रहेको बताइन्छ । तर पछिल्लो निर्वाचनमा परम्परागत राजनीतिक शक्तिविरुद्ध चुनावी परिणाम उल्ट्याएको रास्वपाका प्रभावशाली अर्थशास्त्री उम्मेदवार र चर्चित प्रहरी ‘अफिसर’ खनालसँग भट्टराईको प्रतिस्पर्धा रोचक हुने आकलन गरिएको छ ।

भट्टराईप्रतिको सद्भाव, रास्वपाको आकर्षण, स्वर्णिमप्रतिको विश्वास र कुनै बेलाका प्रभावशाली प्रहरी ‘अफिसर’ एउटै क्षेत्रमा प्रतिस्पर्धामा उत्रिएकाले पनि तनहुँ– १ चर्चामा देखिएको छ । कांग्रेस सत्ता गठबन्धनको बलमा जित्न चाहन्छ । रास्वपा परिवर्तनप्रतिको भोक र आकर्षण आफ्नो पक्षमा रहेको जबर्जस्त स्थापित गर्ने हुटहुटीमा छ । एमाले सत्ता गठबन्धनविरुद्ध एक्लै चुनाव लडेर आफ्नो प्रभाव र लोकप्रियता नघटेको देखाउन चाहन्छ । 

यस्तो थियो ४ मंसिरको चुनावी परिणाम 

मंसिर ४ गते भएको निर्वाचनमा तनहुँ– १ बाट कांग्रेस नेता पौडेल २५ हजार ३६१ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका एकबहादुर राना मगरको १९ हजार ९८१ मत आएको थियो । २०४८ यताका ७ मध्ये ६ वटा चुनाव जित्दै आएका पौडेल यसपटक ५ हजार ३८० मतान्तरले चुनाव जित्न पुगेका थिए ।  

जिल्लाको राजनीतिमा सधैं रामचन्द्र पौडेलसँग द्वन्द्वमा उत्रिँदै आएका गोविन्दराज जोशीले स्वतन्त्रबाट ६ हजार ८८६ ल्याएका थिए । पछिल्लो निर्वाचनमा लहर देखिएको राष्ट्रिय स्वतन्त्रका पार्टीका विकास सिग्देलको ६ हजार ४४ मत आएको थियो । 

केन्द्रकै प्राथमिकतामा तनहुँ  र चितवन

मुख्य राजनीतिक पार्टीले नै तनहुँ– १ मा हुने उपनिर्वाचनलाई प्राथमिकतामा राखेका छन् । कांग्रेसले भट्टराईको उम्मेदवारी मनोनयन अगाडि नै महामन्त्री गगन थापालाई तनहुँ खटाएको थियो । थापालाई तनहुँ खटाउनुको कारण पनि रणनीतिक देखिन्छ, किनकी भट्टराईका प्रतिस्पर्धी स्वर्णिम कांग्रेसमा गगन थापासँग निकट सम्बन्ध भएका अर्थशास्त्री हुन् ।

४ मंसिरको निर्वाचनमा थापा स्वर्णिमलाई काठमाडौं– ४ छाडेर सर्लाही– ४ मा निर्वाचन लड्न तयार भएको चर्चा भएको थियो । तर, आन्तरिक समीकरण नमिल्दा थापा काठमाडौंमै निर्वाचन लडेका थिए । यसैले पनि कांग्रेसले उनै स्वर्णिमविरुद्ध माहोल बनाउन लोकप्रिय युवा नेता थापालाई तनहुँ खटाएको हो । 

तनहुँ पुगेर थापाले ‘घुम्दै आएका टुरिस्ट उम्मेदवारले अन्यत्र मादल बजाएजस्तो कांग्रेस चोकमा राखेको मादल होइन’ भन्दै स्वर्णिमको नाम नलिई आलोचना गरेका छन् । 

थापा यतिमै अडिएनन् विदेशमा जागिर खाएर, घर बनाएर र पेन्सन पकाएर आएका व्यक्तिले नेपालमा संघर्ष गरेकाहरूप्रति आक्षेप लगाउन नमिल्ने बताए ।

अवसर पाउँदा र मन्त्री बनाउँदा दाजु पनि ठीक र भाउजू  पनि ठीक भन्नेले अवसर नपाउँदा धैर्य गर्नुको साटो लाञ्छना लगाउनु अव्यावहारिक भएको उनको टिप्पणी छ ।

उम्मेदवार बनेका भट्टराईले आफ्नो सक्रियता, निरन्तरता, भूगोलसँगको सामिप्यता नै जीतको आधार रहेको बताएका छन् । 

कांग्रेसले तनहुँसँगै चितवनलाई पनि पनि उत्तिकै प्राथमिकतामा राखेको छ । चितवन २ मा हुने उपनिर्वाचनका लागि खटाएका अर्का महामन्त्री विश्वप्रकाश शर्माले रवि लामिछानेविरुद्ध परिणाम उल्टाउने दाबी गरे । त्यहीँबाट उनले स्वर्णिमविरुद्ध आलोचना गर्न भ्याए । ‘कांग्रेसले उहाँ (स्वर्णिम)लाई अवसर दियो । तर, उहाँ उल्टै कांग्रेसलाई गाली गरेर हिँड्नुभयो,’ शर्माले चितवनबाट भने । 

कांग्रेसले मात्रै होइन उपनिर्वाचनमा तीनवटै क्षेत्र जितेर ‘क्लीन स्वीप’ गर्ने उद्घोष गरेको रास्वपाले पनि उपनिर्वाचनलाई उत्तिकै महत्त्व दिएको छ । चितवन– २ मा बिहानै उम्मेदवारी दर्ता गरेपछि सभापति रवि लामिछाने आफैं तनहुँ– १ मा स्वर्णिमको उम्मेदवारी मनोनयन दर्ता गर्न पुगे । 

रविलाई साथमा लिएर उम्मेदवारी दर्ता गर्न पुगेका वाग्लेले राज्यको अवस्था शिथिल भएको भन्दै सामान्य झारफुक होइन, सर्जरी गरेर अर्थतन्त्र उकास्न आफू उम्मेदवार बनेको टिप्पणी गरे । 

‘अब सामान्य हिसाबले चल्नेवाला छैन । चितवनमा जसरी रविजीलाई जिताएर पठाउनुभयो, त्यस्तै सन्देश तनहुँबाट पनि दिनुपर्नेछ । अब सामान्य घिसिपिटी र लरतरो पाराले चल्नेवाला छैन,’ आफ्नो विज्ञता रहेको अर्थतन्त्रबारे उनले भने, ‘राज्य र अर्थतन्त्र बिरामी परेको छ । यसको सुधारको लागि अब सामान्य झारफुक र टालटुले विधिले हुँदैन । अर्थतन्त्रको सर्जरी नै आवश्यक भएकाले म चुनावी मैदानमा होमिएको हुँ ।’ 

एमाले उम्मेदवार सर्वेन्द्र खनाल पनि चुनाव जित्नका लागि कम्मर कसेर लागेका छन् । उनले विगतका योगदानलाई हेरेर जनताले आफूलाई सांसद बनाउनेमा विश्वस्त रहेको बताए । 

एमालेले तनहुँजस्तै चितवन– २ लाई पनि विशेष प्राथमिकता दिएको छ । चितवन– २ मा प्रभावशाली नेता गोकुल बास्कोटालाई उपनिर्वाचन कमान्डर बनाएर खटाइएको छ ।


चितवनमा चुनावी सभालाई सम्बोधन गर्दै बास्कोटाले रविलाई लक्षित गर्दै सरकारमा जाने, फिर्ता हुने, राष्ट्रपति निर्वाचनमा सहयोग गर्ने, फेरि सरकारमा जाने जस्तो अमिल्दो कच्चा खेल खेलेको आरोप लगाए ।

‘पिँध नभएको पार्टी होइन, भविष्य भएको पार्टी एमालेका रामप्रसाद न्यौपानेलाई जिताउनुस्’ भनेका बास्कोटाले रास्वपाको भदौरे बाढीले ल्याएको भेल नारायणीमा मिसिएर संग्लिसकेको टिप्पणी गरे ।

salt training

कमेन्ट गर्नुहोस्