
कैलालीको टीकापुरमा पहिलोपटक भोलि शनिवारदेखि ‘टीकापुर साहित्य महोत्सव’ हुुँदैछ । टीकापुर साहित्य समाजको आयोजनामा महोत्सव हुन लागेको हो ।
टीकापुरस्थित सिद्धार्थ होटलमा ३ दिनसम्म चल्ने महोत्सवमा कला, साहित्य, शिक्षा, विकास, समाज, राजनीति लगायत २० सत्रमा छलफल हुनेछ । छलफलमा सहभागी हुने सहजकर्ता र बहसकर्ताको टुंगो लागिसकेको टीकापुर साहित्य समाजका अध्यक्ष महेशविक्रम शाहले जानकारी दिए ।
महोत्सवको उद्घाटन सत्रमा लेखक तथा विश्लेषक डा. सीके लालको ‘सामाजिक सद्भाव’ विषयमा प्रस्तुती रहनेछ । टीकापुर साहित्य महोत्सव हरेक वर्ष गरिने अध्यक्ष शाह बताउँछन् ।
महोत्सवमा देशभरका चर्चित साहित्यकार, लेखक, पत्रकारलगायत सहभागी हुनेछन् ।
महोत्सवको उद्घाटन सत्रमा ३ विधामा पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । १ लाख राशिको ‘खड्ग स्मृति राष्ट्रिय गौरव पुरस्कार २०७८’ थोमस वर्गिज र मेरी वर्गिजलाई प्रदान गरिने छ ।
पुरस्कार टीकापुर योजनाबद्ध सहरका परिकल्पनाकार पूर्व मन्त्री स्व. खड्गबहादुर सिंहको सम्झानामा स्थापना गरिएको हो । वर्गिज दम्पतीले टीकापुरमा आवासीय विद्यालय (हाल वीरेन्द्र विद्या मन्दिर मावि) स्थापना गरी यहाँको शैक्षिक क्षेत्रमा योगदान दिएका थिए ।
५० हजार रुपैयाँ राशिको ‘टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार’ गायिका अनु चौधरीलाई प्रदान गरिने छ । सुदूरपश्चिमका प्रतिभालाई प्रदान गरिने यो पुरस्कार नेपाली, खस र थारु भाषामा गीत गाएर भाषा र कलाको उन्नयन तथा प्रवद्र्धन गरेकाले उनलाई प्रदान गर्न लागिएको हो । २५ हजार रुपैयाँ राशिको ‘टीकापुर साहित्य समाज जेहेन्दार विद्यार्थी पुरस्कार’ टीकापुर उच्च माविबाट उत्कृष्ट नतिजा ल्याउनुभएका गणेश बाबा बोर्डिङ स्कुलका छात्र प्रवेश रावललाई दिइने भएको छ । यस क्षेत्रका लागि पहिलो अनुभव भएकाले यस क्षेत्रका विद्वत वर्गले उत्साहका रूपमा लिएका छन् ।
‘कार्यक्रम सफल बनाउनु सबैको कर्तव्य हो, टीकापुरका लागि अवसर हो,’ स्थानीय साहित्यकार कान्तिप्रसाद ज्ञवालीले भने, ‘टीकापुरलाई चिनाउने कार्यक्रम भएकाले सामाजिक अगुवाहरूले पनि यो कार्यक्रमप्रति चासो दिन जरुरी छ ।’
उनले साहित्य समाजले गरेको प्रयास सह्रानीय भएको भन्दै सबैको उपस्थिति आवश्यक छ भने बाहिरबाट आएका पाहुनालाई स्वागत तथा सम्मानको वातावरण बनाउन जरुरी रहेको बताए ।
कार्यक्रममा हाम्रो देशको प्रधानमन्त्री कस्तो हुनेछ भन्ने बारेमा यस क्षेत्रका विद्यार्थीले बहस गर्नेछन् । साहित्यमार्फत सामाजिक सद्भाव कायम गर्ने उद्देश्य साहित्य कार्यक्रमको हुनेछ । २० वटा सत्रमा विभिन्न शीर्षकमा छलफल र बहस हुनेछन् । अन्त्यमा सांस्कृतिक कार्यक्रम गरी कार्यक्रम समापन हुने जनाइएको छ ।
कार्यक्रम बिहान १० बजेदेखि ५ बजेसम्म हुनेछ । केही अतिथि शुक्रवार नै टीकापुर आउने कार्यक्रम छ । यसरी आउने अतिथिको स्वागतका लागि बनाना एग्रो रिसोर्टमा सांस्कृतिक कार्यक्रम गरिने भएको छ ।
टीकापुर आउने अतिथिलाई कर्णाली चिसापानीदेखि टीकापुर पार्कसम्म कर्णाली नदीमा र्याफ्टिङको आनन्द लिने व्यवस्था समेत गरिएको छ ।