०९ साउन २०८३, शनिबार

साहित्यकार टंक वनेमको नयाँ कृति ‘सुदूर विस्मृतिका विम्बहरू’ लोकार्पण

साहित्यकार टंक वनेमको नयाँ कृति ‘सुदूर विस्मृतिका विम्बहरू’ लोकार्पण

साहित्यकार टंक वनेमको नयाँ कृति ‘सुदूर विस्मृतिका विम्बहरू’ लोकार्पण गरिएको छ ।

नेपाली वाङ्मय परिषद्का अध्यक्ष तथा कवि शशी लुमुम्बुको सभापतित्व तथा मुन्धुमविद तथा वरिष्ठ कवि वैरागी काइँलाको प्रमुख आतिथ्यतामा उक्त कृति लोकार्पण गरिएको हो । 

नेपाली वाङ्‍मय परिषद र नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा संयुक्त आयोजित लोकार्पण कार्यक्रममा समालोचक तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव जगतप्रसाद उपाध्याय प्रेक्षित, अन्वेषक तथा लालिगुराँस नगरपालिका तेह्रथुमका मेयर अर्जुन माबुहाङ, संस्कृतिविद् तथा दर्शनविद डा भक्त राई, वरिष्ठ लेखक राजेश्वर थापा, समालोचक तथा उपप्राध्यापक डा. हरिप्रसाद सिलवाल, सशत्र प्रहरी बलका पूर्वमहानिरीक्षक दुर्ज कुमार राई र मकरध्वज वनेम लगायतको आतिथ्यता रहेको थियो । 

कृतिबारे बोल्दै प्रमुख अतिथि वैरागी काइँलाले सुदूर स्मृतिका विम्बहरू धेरै अघिका, बिर्सन लागेका कुरा नै विस्मृतिका कुराहरू रहेको र नयाँ पुस्तामा इतिहासको सङग्रहका रुपमा पुस्तक स्थापित रहेको बताए । उनले सुदूर स्मृतिका विम्बहरू पुस्तक पढ्न पाउनु नै आफ्ना लागि अवसरको भएको बताए । 

प्रमुख अतिथि वैरागी काइँलाले गाउँघरको जीवन, बाँच्ने तरिका, बाटोघाटो, अन्धविश्वास वा विश्वासले भरिएका चिजहरूद्वारा संग्रहित कृति  आफैमा सुन्दर रहेको बताए । 

कार्यक्रममा बोल्दै समालोचक डा हरिप्रसाद सिलवालले उक्त कृतिमा स्मृति र विस्मृतिका विम्बहरूको द्धन्द्ध रहेको बताए । ‘विस्मृतिको विम्ब लेख्न कठिन छ । तर, यस संग्रहमा लेखकले कलात्मक तरिकाले विस्मृतिका कुराहरू लेख्नुभएको छ,’ सिलवालले थपे, ‘पुस्तकमा माटोको अनुभूति र लेखक आफू बाँचेको जीवन जस्ताको त्यस्तै उतार्न सफल छन् ।’

यस्तै, कार्यक्रममा बोल्दै अन्य वक्ताहरूले पनि वनेमको नयाँ कृतिमा हरेकले आ–आफ्नो बाल्यकाल पाउने र  आजभन्दा करिब ४० वर्ष अघि पूर्वी पहाडमा बाँचेको र भोगिएका कुराहरूले पुस्तक रोचक र पठनीय बनेको बताए । 

लेखक टंक वनेमले पनि जीवनमा सामान्य मान्छेले भोग्ने गरेको घटना मात्रै आफूले भोगेको र उनै भोगाइलाई पुस्तकमा समेटेको बताए । उनले भने, ‘मेरो जीवनमा त्यति ठूला र सम्झना लायक घटना घटेनन् । अरू जस्तै म पनि सामान्य जीवन नै बाँचे । त्यही भोगाइलाई यश पुस्तकमा समेटेको छु ।’

मैवाखोला–२, ताप्लेजुङका वनेम हाल वेस्टबर्मिज, बर्मिङघाम, यूकेमा बसोबास गर्दै आएका छन् ।

बेलायतमा रहेर कथा, कविता, संस्मरण, मुन्धुम, इतिहास तथा खोज–अ –अनुसन्धानमा कलम चलाउँदै आएका वनेमको ‘सुदूर विस्मृतिका विम्बहरू’ छैटौं कृति हो ।

salt training

कमेन्ट गर्नुहोस्