
पाल्पा जिल्लामै सरकारी तवरमा सबैभन्दा ठूलो अस्पताल रामपुरमा निर्माण भएको छ ।
निर्माण कार्य शुरू भएको करीब ८ वर्षमा ५० शय्याको रामपुर अस्पताल भवन निर्माण भएपछि स्थानीयलाई सहज हुने भएको छ ।
नयाँ भवनको संरचना तयार भएपछि विशेषज्ञ सहितको सेवा पाउने आशामा स्थानीय छन् । अस्पताल २०७२ सालमा ५० शय्यामा स्तरोन्नति भए तापनि १५ शय्याकै पुरानो भवनबाट खुम्चिएर सेवा दिइएकोमा नयाँ भवन निर्माण भएपछि सेवा प्रवाहमा धेरै सहज हुने स्थानीयवासी तथा अस्पताल विकास समितिका पूर्व उपाध्यक्ष फणेश्वर गौतम बताउँछन् ।
‘५० शय्यामा स्तरोन्नति भए तापनि भवन तयार नभएकाले विशेषज्ञ सेवा सञ्चालन हुन नसक्दा यस क्षेत्रका स्थानीय विशेषज्ञ सेवा लिन बुटवल, पोखरा, काठमाडौैं, चितवन जानुपर्ने बाध्यता बन्यो,’ उनले भने, ‘भवनको संरचना तयार भएको हुदा सो सेवा रामपुरबाटै पाएपछि स्थानीयलाई अन्यत्र जानुपर्ने समस्या हट्नेछ ।’
१ हजार ७०० वर्गमिटरमा फैलिएर तयार भएको अस्पतालको भवन सहितको संरचना भ्याटबाहेक रविना कन्ट्रक्सन प्रालि काठमाडौंले २०७२ कात्तिक १७ गते सम्झौता गरी २० करोड २ लाख रुपैयाँको लागतमा भवन निर्माण गरेको हो । आर्थिक वर्ष २०७२/७३ को पुसदेखि निर्माण कार्य शुरू गरिएको भवन कोभिड–१९ को असरले गर्दा धेरै समय लम्बिन पुग्यो ।
अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर विजय परियारले ५० शय्यामा स्तरवृद्धि भए पनि भवन निर्माण नहुँदा प्राथमिक सेवा केन्द्रको संरचनामा सेवा प्रदान गर्दै आएकोमा नयाँ भवनबाट बहुविशेषज्ञ सेवा दिने लक्ष्यसहित अघि बढेको बताउँदै हिजोको दिनमा भन्दा फरक ढंगले सेवा प्रवाह गर्ने जानकारी दिए ।
पाल्पाको पूर्वी भेग, स्याङ्जा, तनहुँ र नवलपुर (नवलपरासी सुस्ता पूर्व) को केन्द्र भागमा रहेको यस अस्पताल कालीगण्डकी करिडोर सडकसँगै जोडिएको छ । सडक सञ्जाल विस्तार र जनघनत्व बढ्दै जाँदा यस अस्पतालमा बिरामीको चाप उत्तिकै बढ्दो छ ।
हिजोका दिनमा सामान्य उपचारका लागि पाल्पाको तानसेन, स्याङ्जाको वालिङ, बुटवल जाने स्थानीय सडक सुविधा जोडिएपछि रामपुर अस्पतालमै जाने क्रम बाक्लिदो छ । यहाँ दैनिक ३०० बढी बिरामीले सेवा लिइरहेका छन् ।