२९ जेठ २०८३, शुक्रबार

सुदूरपश्चिममा आज विसु पर्व : एकअर्कालाई सिस्नो लगाएर शरीरको विष फालिँदै

सुदूरपश्चिममा आज विसु पर्व : एकअर्कालाई सिस्नो लगाएर शरीरको विष फालिँदै

सुदूरपश्चिम प्रदेशमा आज विसु पर्व मनाइँदैछ । 

सिस्नो लगाएर मनाइने यस पर्वलाई विसु, बिस्का वा विस्पति पर्व भन्ने गरिन्छ । वैशाख १ गते मेष संक्रान्ति पनि हो । 

यो दिनमा मिठा परिकार पकाउने, खाने र खुवाउने गरिन्छ । नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा पनि देउडा खेल्दै, सिस्नु लगाउँदै विसु पर्वसँगै नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने चलन रहेको शैल्यशिखर नगरपालिका–७ का वडाध्यक्ष पुष्पराज जोशीले बताए ।

विसु पर्व मनाउन घरभित्र र घरबाहिर सरसफाइ, लिपपोत गरेसँगै शरीरको सरसफाइलाई मुख्य रूपमा हेरिने गरिएको छ । बच्चा, बिरामीदेखि वृद्ध सबैले विसु पर्वको दिन नुहाउनु अपरिहार्य मानिएको छ । आफ्ना शरीरका प्रत्येक अंगलाई साबुन पानीले मिच्दै काखीको विष (रोग) गयो, घुँडाको विष गयो, घाँटीको विष गयो, तिघ्राको विष गयो, पेटको विष गयो इत्यादि भन्दै सफापानीले पखाल्दै जानुपर्ने मालिकार्जुन गाउँपालिका–३ का ८५ वर्षीय भानसिंह धामी बताउँछन् ।

दार्चुलाका बस्तीमा विसुको दिन एकअर्कामा सिस्नो लगाउने चलन रहेको छ । यसरी सिस्नो लगाउँदा शरीरमा भएको विष हटेर जाने स्थानीयको भनाइ छ । नुहाइधोइ गरी नयाँ वर्षका दिन शरीरमा सिस्नो लगाएपछि वर्षभरिमा रोग नलाग्ने जनविश्वास छ । शहर बजारमा नयाँ वर्षलाई जे जसरी मनाए पनि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भने घरमै सेलरोटी, खीर, पुरी, माँडा, बटुक, मासुलगायत स्थानीय सामग्रीबाट मिठा परिकार बनाएर विसु पर्व मनाइने गरिन्छ । 

नयाँ वर्षको पहिलो दिन वैशाख १ गते मनाउने विसु पर्वको मुख्य आकर्षण भनेको विशेष गरी देवर र नन्दले भाउजुलाई खोजीखोजी सिस्नु लगाउने चलन रहेको लेकम गाउँपालिका–४ का गोविन्द धामीले बताए ।

जीवनभर जेठाजुले भाइबुहारीलाई छुन नहुने तर देवरलाई छोरा समान मान्दै यो दिन देवर भाउजुले एकअर्कोलाई सिस्नुपानी लगाउँदै रमाइलो गर्ने गर्छन् । विसु पर्वलाई दार्चुलाको मार्मा गर्खाले विशेष महत्त्वका साथ मनाउने गरेको मार्मा गाउँपालिकाका अध्यक्ष जमन धामीले बताए ।

जिल्लाका सबै ठाउँमा विसु पर्व मनाउँदै आए पनि मार्मा क्षेत्रमा विशेष महत्त्व दिइन्छ । परम्परादेखि जिल्लालाई व्यास, दुहु, मार्मा र लेकम गर्खामा विभाजन गरेको थियो । मुलुक संघीय संरचनामा गएदेखि मार्मा गर्खामा नौगाड, मार्मा र अपी हिमाल गाउँपालिका पर्छन् । 

विसुमा मार्मा गर्खाको सिप्टी र घोल्जरमा भव्य रूपमा ठूलो जात्रा लाग्ने गरेको छ । विसुको अघिल्लो दिनको दिउँसोबाट सिप्टीमा लाग्ने जात्रा लगातार ३ दिनसम्म लाग्ने गरेको छ । ३ दिनसम्म जात्रा लागे पनि मुख्य जात्रा विसुको दिन लाग्ने गरेको छ । कुनै पनि पर्व मनाउनुको उद्देश्य त्यसबाट आफन्तसँग भेटघाट हुनु, पर्वद्वारा भरपूर मनोरञ्जन प्रदान गर्नु र संस्कृतिको जगेर्ना गर्नु मुख्य उद्देश्य रहेको स्थानीय जानकार बताउँछन् ।      

भारत गएका विसु मनाउन घर फर्किन थालेपछि गाउँघरमा चहलपहल बढेको छ । विसुका लागि भन्दै सदरमुकाम खलंगाको नाका भएर मात्रै दैनिक सयौंको संख्यामा भारतका विभिन्न क्षेत्रबाट काम गरेर नेपाली घर फर्किरहेका छन् ।

कमेन्ट गर्नुहोस्