१९ असार २०८३, शुक्रबार

बागलुङ नगर अस्पतालको भवन निर्माण अलपत्र

बैशाख ३, २०८०
बागलुङ नगर अस्पतालको भवन निर्माण अलपत्र
प्रतिकात्मक तस्वीर

बागलुङ नगरपालिकाको १५ शय्याको अस्पताल पहिलो तला ढलानको तयारी गरिएकै ६ महिना बित्यो । ६ महिनादेखि अलपत्र अवस्थामा रहेको अस्पताल भवनको छडमा खिया लाग्न थालेको छ ।

ढलानका लागि खरिद गरिएका कच्चा सामग्री पतकरले छोपिएका छन् । 

अलपत्र अवस्थामा रहेको अस्पताल भवनको ठेक्का मिति सकिने बेलासम्म कामले गति नलिँदा त्यहाँका स्थानीयले निर्माण व्यवसायीको आलोचना गरेका छन् । निर्माण सम्झौताको २१ महिनामा पहिलो तला समेत ढलान हुन नसकेको बताइएको छ ।  

‘नगर अस्पतालले पुरानो भवनबाट सेवा दिन शुरू गरेकै २ वर्ष भयो तर अस्पतालमा डाक्टर छैनन्, जनस्वास्थ्य निरीक्षकको भरमा अस्पताल छ, निर्माणधीन नयाँ भवनको निर्माण ठप्प छ,’ स्थानीय बालकृष्ण शर्माले भने, ‘स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पताल बनाए पनि सेवा स्वास्थ्य चौकीकै छ, १५ शय्याको अस्पताल भवन निर्माण कार्य ठप्प भएको छ ।’

अहिले जम्मा २० प्रतिशत मात्रै काम भएको प्राविधिकको भनाइ छ ।

लामो समयको प्रयास र पहलपछि बागलुङ–१३ पैयुपाटामा १५ शय्याको नगर अस्पताल भवन निर्माण अघि बढे पनि निर्माण व्यवसायीको लापरवाहीका कारण भवन निर्माणले गति लिन नसकेको हो । अस्पताल सम्पन्न गर्नुपर्ने मिति आउन मात्रै जम्मा ३ महिना बाँकी रहँदा पहिलो तला ढलान हुन नसक्नु दुखद् विषय बनेको बागलुङ नगर उपप्रमुख राजु खड्काले बताए ।

‘निर्माण व्यवसायीलाई ताकेता गरिरहेका छौं, अस्पतालको सेवा थप गर्नका लागि चिकित्सकको माग गरी पदपूर्ति गरे पनि चिकित्सक बस्नुभएन, पुनः अहिले हेल्थ असिस्टेन र ल्याब टेक्निसिएन थपेका छौं तर डाक्टरका लागि आवेदन आएको छैन,’ उनले भने, ‘निर्माण व्यवसायीको कमजोरीका कारण नगरपालिकाप्रति स्थानीय रुष्ट छन्, निर्माण व्यवसायीलाई तुरुन्तै सम्झौताअनुसार काम गर्न निर्देशन गर्नेछु ।’

बागलुङ–१३ पैयुपाटा स्वास्थ्य चौकीलाई नै नगर अस्पतालका रूपमा नामकरण गरेको बागलुङ नगरपालिकाले नयाँ भवन निर्माणका लागि १२ करोड ८७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरे पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अस्पताल भवन निर्माण कहिले सकिने टुंगो नलागेको बागलुङ–१३ पैयुँपाटाका वडाध्यक्ष नारायण पौडेलले बताए ।

सरकारले प्रत्येक पालिकामा १५, १० र ५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्यअनुसार स्वास्थ्यको पहुँचबाट टाढा रहेको नगरपालिकाको दक्षिण भेगलाई लक्षित गरी नगर अस्पताल निर्माण थालिएको भए पनि निर्माणमा ढिलाइ हुनु र अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी नहुँदा समस्या भएको छ । 

१५ शय्याको अस्पताल भवन निर्माण गर्न श्री महालक्ष्मी जुगल जेभीसँग २०७८ असार २३ गते १२ करोड ८७ लाखमा सम्झौता भएको थियो । भवन २०८० साल असार २० गतेसम्म सक्नुपर्ने सम्झौता रहेको छ । प्रवेशद्वार, पार्किङ लगायतका संरचनासहित ३ तलाको विद्युतीय भर्‍याङ सहितको अस्पताल निर्माण हुनेछ । 

नगरपालिकाको रायडाँडा, पैयुपाटा, अमलाचौर र नारायणस्थनका वासिन्दालाई अस्पताल निर्माणसँगै स्वास्थ्य सेवा लिन सहज हुने गरी नगर अस्पताल घोषणा गरिएको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए । उनका अनुसार अस्पतालमा एमडीजीपीसहित ३ चिकित्सक आवश्यक रहे पनि अहिले मेडिकल अधिकृत समेत राख्न नसकिएको हो । 

स्थानीयको ९ रोपनी जग्गा नगर अस्पतालका नाममा पास गरेपछि अस्पताल निर्माण अघि बढेको थियो । ठेक्का सम्झौता भौगोलिक जटिलता, निर्माण सामग्रीको अभाव तथा सडकमार्गको अवरुद्धका कारण भवन निर्माणले गति लिन नसकेको बताउँदै भवन निर्माणको जिम्मा पाएको महालक्ष्मी जुगल जेभीका प्रतिनिधि नरेश ओझाले अब निर्माणले गति लिने बताए । – खेमराज गौतम/रासस

salt training

कमेन्ट गर्नुहोस्