
पछि गएर के बन्ने ? चुलबुले, चञ्चले स्वभावकी कुशुम शर्मा बाल्यकालमा हुँदा भन्थिन् – म त ‘हिरोइन’ बन्ने हो ।
ममीले टेलिभिजनमा भारतीय सिरियलहरू हेर्ने गर्थिन् । ७/८ वर्षकी फुच्ची कुशुम सिरियलमा कलाकारहरूले गरेको अभिनय दुरुस्त उतार्ने प्रयास गर्थिन् ।
उनी पर्वत जिल्लामा जन्मिइन् । बाल्यकाल केही वर्ष चितवन, केही वर्ष नवलपुरमा बित्यो । त्यतै पढिन्, त्यतै बढिन् ।

विद्यालयमा पढ्दा सांगीतिक कार्यक्रमहरू नछुटाई ग्रुपमा नृत्य प्रस्तुत गर्थिन् । प्रायः प्रथम, नभए द्वितीय वा तृतीय स्थान हासिल गर्थ्यो उनको ग्रुपले ।
एक हिसाबले त्यतिबेलाबाटै उनको मनको एउटा कुनामा पछि गएर कलाकारितामा लाग्ने रहर पलाएको थियो । कलाकार बन्ने सपना देखेकी थिइन् ।
परिवारबाट कहिल्यै पनि दबाब थिएन, छोरी यो बन्नुपर्छ, त्यो बन्नुपर्छ भनेर ।
प्लस टु सकाइन् । नर्सिङ पढाइ पनि सकिन् । केही समय स्वास्थ्यचौकीमा ‘भोलिन्टिएर’को रूपमा काम समेत गरिन् ।
यद्यपि मनको कुनामा रहेको कलाकार बन्ने रहरले यसपछि भने उनलाई काठमाडौं डोहोर्यायो । यो गत असारको कुरा थियो । कलाकारिता क्षेत्रमा चिनेजानेको कोही थिएनन् । सोही कारण कलाकारितामा कसरी जोडिने ? मेसो मिलिरहेको थिएन ।
यहीबेला अभिनयका लागि अफर आएको गीत थियो– ‘सकम्बरी’, जुन अहिले चर्चाको शिखरमा छ ।

डेब्यु म्युजिक भिडियोबाट निकै चर्चा पाएपछि मोडल कुशुम दंग छिन् । संगै, गीतलाई लिएर भइरहेका विभिन्न टिकाटिप्पणीले भने उनलाई केही दुःखी पनि बनाएको छ ।
‘पहिलो प्रयासलाई नै यति धेरै माया गरिदिनुभएकोमा एकदमै खुशी छु,’ उनले लोकान्तरसँग भनिन्, ‘तर गीतलाई लिएर कतिपयले गर्नुभएको नकारात्मक कमेन्टले भने केही दुःख पनि लागेको छ ।’
जुन सन्देश दिने उद्देश्यले गीत बनाइयो त्यसलाई कतिपयले गलत रूपमा बुझिदिँदा आफ्नो चित्त दुखेको उनको भनाइ छ ।
खासमा यसको छायांकन हुँदै गर्दा कुशुमलाई लागेको थियो, गीतले एक खालको चर्चा पाउँछ । तर यो लागेको थिएन कि गीतले यति छोटो समयमा नै यो स्तरको चर्चा पाउँछ ।
यस गीतको भिडियोका लागि कुशुमलाई गायक प्रकाश सपूतका भाइ सुनिल विकले प्रस्ताव गरेका थिए । कुशुम र सुनिलको चिनजान केही महिना अघिदेखिको थियो ।

प्रकाश उक्त गीतका लागि पात्रको खोजीमा थिए । ‘दाइले मलाई यस्तो क्यारेक्टर चाहिन्छ । यो खालको क्यारेक्टर खोज्नुपर्छ भन्नुभएको थियो,’ सुनिल सम्झन्छन्, ‘दाइले खोज्नुभएको क्यारेक्टर मैले कुशुमजीमा देखेपछि उहाँलाई लिएका हौं ।’
कुशुमले पहिलो गीतमै प्रकाश सपूत, सुनिल थापाजस्ता चर्चित कलाकारहरूसंग स्क्रिन शेयर गरिन् । निर्माण टीमले सहज वातावरण बनाइदिएका कारण छायांकनमा कुनै गाह्रो नभएको उनले बताइन् ।
डेब्यु म्युजिक भिडियो अत्यधिक हिट भएसँगै उनलाई यतिबेला अन्य म्युजिक भिडियोबाट अफरहरू आउन थालेका छन् ।
केही सिरियलहरूबाट समेत अभिनयका लागि अफर आइरहेका छन् ।
यद्यपि, आफूले कुनैमा अभिनय गर्नेबारे निर्णय लिइनसकेको उने बताइन् ।
नर्सिङ पेशालाई एकदमै रेस्पेक्ट गर्ने बताउने उनी करिअर भने आफ्नो बाल्यकालदेखिकै रुचि भएको अभिनयमा बनाउन चाहेको बताउँछिन् ।

अभिनयमा उनलाई एउटै खालको भूमिकामा अल्झिनु छैन । फरक–फरक खालका भिडियोमा काम गर्ने आफ्नो चाहना रहेको उनले बताइन् । एउटै खालको क्यारेक्टर भिडियोमा नदोहोर्याउने गरी काम गर्ने सोच रहेको उनको भनाइ छ ।
‘सकम्बरी’ गीतको भिडियोमा कुशुमले केही बोल्ड खालका सीनहरू समेत दिएकी छिन् । त्यसलाई लिएर पछुतो नभएको बताउने उनी आगामी म्युजिक भिडियोमा भने त्यस प्रकारको सीन नदिने अठोट गरेको बताउँछिन् ।
‘यो समाजको यथार्थलाई चित्रण गरिएको गीत हो । जसको भिडियोमा मैले एउटा चरित्र निर्वाह गरेकी हुँ । सोहीकारण अहिले त्यसलाई लिएर ममा कुनै पछुतो छैन,’ उनले भनिन्, ‘आगामी दिनमा पनि सोही खालको समाजको यथार्थलाई चित्रण गरेको गीत भए सोच्न सकिन्छ । तर, त्यसबाहेकका भिडियोमा बोल्ड सीन, बेड सीन दिनुपर्ने छ भनेचाहिँ गर्दै गर्दिनँ ।’

नवलपुर घर भएकी कुशुम आफूलाई अभिनयमा लाग्न परिवारको बलियो सपोर्ट रहेको बताउँछिन् ।
उनी आगामी दिनमा फिल्ममा पनि अभिनय गर्न चाहन्छिन् । यद्यपि, त्यसका लागि धेरै कुराहरू सिक्न बाँकी रहेको उनी आफैंले बुझेकी छन् ।
अब डान्स र अभिनय प्रशिक्षण लिने सोच उनले बनाएकी छिन् । अभिनयबाहेक उनलाई घुमघाममा औधी रुचि छ ।
‘घुमघाम गर्न मन पर्छ । गाउँघरमा पुगेर मानिसहरूको लाइफ बुझ्न मन पर्छ,’ उनी अगाडि थप्छिन्, ‘कूकिङ गर्न मन पर्छ । डान्स गर्न मन पर्छ । यस्तै यस्तै हुन् रुचिहरू ।’