२२ असार २०८३, सोमबार

प्रकाश सपूतले भने – समाजको सिर्जना गर्ने, समाजकै चित्त दुखाउने मेरो नियत होइन

प्रकाश सपूतले भने – समाजको सिर्जना गर्ने, समाजकै चित्त दुखाउने मेरो नियत होइन
फाइल तस्वीर

गायक प्रकाश सपूतले आफ्नो गीत ‘सकम्बरी’माथि रात्रिकालीन मनोरन्जन व्यवसायी संघले जनाएको आपत्तिबारे स्पष्टीकरण दिएका छन् ।

उनको गीतले अत्याधिक चर्चा र विवादका बीच युट्युबमा एक हप्तामै १ करोड भ्युज पाएर कीर्तिमान रेकर्ड कायम गरेको छ ।

बिहीवार आफ्नो गीत करोड पटक हेरिएकोमा उनले सबैलाई धन्यवाद दिँदै गीतलाई लिएर आएका सबैखाले प्रतिक्रियाहरूलाई मनन गरेको बताएका छन् । उनले माया र प्रशंसाले हौसला मिलेको र खबरदारीले सचेत गराएको उल्लेख गरेका छन् । 

रात्रिकालीन मनोरन्जन व्यवसायी संघले ‘सकम्बरी’ गीतलाई लिएर विज्ञप्ति जारी गर्दै उक्त गीत हटाउन माग गरेको थियो ।

गायक सपूतले संघको उक्त विज्ञप्तिमाथि बिहीवार राती सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिएका हुन् । 

उनले लेखेका छन् ‘यो एउटा शैली हो । कथा निर्माण प्रक्रिया हो । यसलाई कुनै आधिकारिक रिपोर्ट सामग्री जस्तो गरी नबुझिदिनुहोला । यसलाई कथा वा कला सामग्रीको रुपमा बुझिदिनुहोला ।’ 

यदि दोहोरी साँझ नभएको भए आफू कलाकारका रुपमा स्थापित नहुने उनले बताएका छन् । ‘समस्या सबैतिर छ । त्यसैले हामी सबैको साझा उद्देश्य समस्या समाधान हो । मर्यादित र सफल व्यवसाय गर्ने, रोजगार सिर्जना गर्ने, आर्थिक रुपमा सम्पन्न, हिंसा रहित, विभेद रहित समाजको निर्माण गर्ने नै तपाई हाम्रो प्रयास हो’ उनले उल्लेख गरेका छन् । 

गायक सपूतले आफूले ५ वर्ष साँझमा काम गर्दै गर्दा थुप्रै अपमानजनक दृष्टिकोण खेपेको र थुप्रै नैतिक प्रश्नहरूको सामना गरेको पनि खुलाएका छन् ।

उनले आफ्नो सिर्जनाले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा जो जसलाई चोट पुर्याएको छ र अपमानजनक महसुस भएको छ सबैसँग क्षमा मागेका छन् । ‘समाजको सिर्जना गर्ने तर समाजकै चित्त दुखाउने मेरो नियत हुँदै होइन’ उनले लेखेका छन् ‘म पनि यही समाज र परिवेशको उत्पादन हु । मेरो चेतना पनि यही निर्माण भएको हो । त्यसैले  कमजोरी छैन भन्दिन,  छ । तर सकि नसकी/जानि नजानि गर्न खोजेको चाही समाजका अध्यारा कथाहरू देखाएर उज्यालो तिर लाग्न प्रेरित गर्ने भन्ने हो ।’

उनले आफू नेपाल फर्केपछि दोहोरी साँझमा बसेर यसबारे समीक्षा गर्ने बताएका छन् । उनी केही दिनदेखि  साङ्गीतिक कार्यक्रमको शिलशिलामा अमेरिकामा छन् ।

salt training

कमेन्ट गर्नुहोस्