२४ असार २०८३, बुधबार
उपनिर्वाचन

उपचुनावका दृश्य : चितवनमा होहल्ला र क्षमायाचना, बारा एवं तनहुँमा स्पष्टीकरण !

बैशाख १०, २०८०
उपचुनावका दृश्य : चितवनमा होहल्ला र क्षमायाचना, बारा एवं तनहुँमा स्पष्टीकरण !

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ५ महिनामै तीन क्षेत्रमा उपनिर्वाचन भएको छ । आइतबार चितवन २, तनहुँ १ र बारा २ मा उपनिर्वाचन भएको हो । 

नागरिकता प्रकरणमा रवि लामिछानेको सांसद पद खारेज भएपछि चितवनमा उपनिर्वाचन भएको हो । तनहुुँ– १ बाट जितेका रामचन्द्र पौडेल राष्ट्रपति र बारा– २ बाट जितेका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि ती क्षेत्रमा उपनिर्वाचन भएको हो । 

चितवन– २ बाट अघिल्लोपटक झण्डै ३५ हजार मतान्तरले जितेका रवि नै फेरि पनि रास्वपाबाट चुनाव लडेका छन् ।

उनीविरुद्ध एमालेले चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र कांग्रेसले पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । 

तनहुँ– १ मा कांग्रेसले गोविन्द भट्टराई, रास्वपाले स्वर्णिम वाग्ले र एमालेले सर्वेन्द्र खनाललाई प्रतिस्पर्धामा उतारेका छन् ।

यता बारा– २ मा भने सत्ता गठबन्धनका साझा उम्मेदवारका रूपमा उपेन्द्र यादव चुनावी मैदानमा उत्रिएका छन् । उनलाई टक्कर दिन जनमत पार्टीले शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाएको छ । रास्वपाबाट पूर्व डीआईजी रमेश खरेल र एमालेबाट पुरुषोत्तम पौडेल चुनावी प्रतिस्पर्धामा छन् । 

प्रतिनिधिसभा निर्वाचनको ५ महिनामा भएको उपनिर्वाचनमा मुख्यतः तीनवटा पक्षको शक्ति परीक्षण हुने देखिएको छ ।

कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा र नागरिक उन्मुक्तिले आफ्ना उम्मेदवारलाई जिताएर गठबन्धनको औचित्य पुष्टि गर्ने प्रयास गरेका छन् । 

तर, नयाँ शक्तिको रूपमा उदाएको सन्देश दिन चितवन– २ मात्रै होइन तनहुँ र बारामा समेत जितेर नागरिकको आकर्षण आफ्नो दलमा रहेको देखाउने हुटहुटीमा रास्वपा छ । यी दुवै पक्षलाई चुनौती दिने गरी एक्लै चुनाव जितेर देखाउने पक्षमा एमाले रहेको छ ।  बारामा सीके राउतको जनमत पार्टी पनि मुख्य प्रतिस्पर्धीका रूपमा देखिएको छ ।

मुख्यतः तीन पक्षले प्रतिष्ठा बनाएको उपनिर्वाचन सौहार्दपूर्ण नहुने हो कि भन्ने संशय थियो । तर, छिटपुट घटनाबाहेक उपनिर्वाचन सौहार्द र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । 

कहाँ के भए घटना ? 

तीन क्षेत्रको उपनिर्वाचन केही ठाउँमा सामान्य घटना हुनुबाहेक सौहार्दपूर्ण रूपमा सम्पन्न भएको छ । चितवन र बारामा केही घटना भए पनि तनहुँको निर्वाचन शान्तिपूर्ण रह्यो ।

चितवनका तीनवटा केन्द्रमा भने मतदान रोकिन पुगेको थियो । रास्वपाका सभापति एवं उम्मेदवार रवि लामिछाने भीडभाड गर्दै मतदान केन्द्रमा पुगेपछि तनावको स्थिति सिर्जना भएको हो । 

भरतपुर– २ कृष्णपुर मावि र वडा नम्बर ११ नयाँकिरण कमलकुशुम मावि केन्द्रमा रवि भीडभाड गर्दै पुगेपछि कांग्रेस र एमालेले विरोध गरेका थिए ।

रास्वपाबाट आचारसंहिताविपरीतको काम भएको निष्कर्षसहित उक्त दलले क्षमायाचना गर्ने सहमति भएपछि दुई घण्टापछि मतदान सुचारु भएको थियो ।

‘चुनाव चलिरहेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट आचारसंहिता उल्लंघन गर्ने कार्यक्रम सञ्चालन भएको पाइयो । उक्त दलबाट क्षमायाचान गर्ने निर्णय गरियो,’ रास्वपासहितको बैठकमा भएको सहमतिको पहिलो बुँदामा भनिएको छ ।

मतदातालाई पैसा बाँड्न खोजेको आरोपमा बारा– २ को देवताल गाउँपालिका– २ कल्याणपुर मतदानस्थलनबाट प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । बाराको इनर्वा– २ मा जनमत र जसपाबीच लफडा हुँदा केहीबेर मतदान प्रक्रिया रोकिएको थियो ।

भारतीय सीमा क्षेत्रका केही मतदान केन्द्रमा जसपाले बुथ कब्जा गरेको आरोप जनमतका अध्यक्ष सीके राउतले लगाएका थिए । यसले केहीबेर मतदान प्रक्रिया अवरुद्ध भए पनि पछि सुचारु भएको थियो । 

त्यस्तै निर्वाचन आयोगले तनहुँ– १ का कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मौन अवधिमा भ्वाइस म्यासेजमार्फत मत मागेको भन्दै उनलाई आयोगले स्पष्टीकरण सोधेको हो । 

त्यस्तै, मधेश प्रदेशका मुख्यमन्त्री रामसरोज यादवलाई पनि निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । 

अनुमतिविना स्रोत साधनको दुरुपयोग गरी पचरौता नगरपालिकामा गएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

जसपाबाट मुख्यमन्त्री बनेका यादव उपेन्द्र यादवको पक्षमा माहोल बनाउन पुगेको भन्दै स्पष्टीकरण सोधिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्