
वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले म्याग्दीका ग्रामीण क्षेत्रमा पुगेर बिरामीको उपचार गरेका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ को भुरुङ्ग तातोपानी स्वास्थ्य चौकीमा उनले आइतवार र सोमवार हाडजोर्नी सम्बन्धी बिरामीको उपचार गरेका हुन् । २ दिनसम्म उनले १२५ जनाको उपचार गरेका भुरुङ्ग तातोपानी स्वास्थ्य चौकीका प्रमुख कृष्ण केसीले जानकारी दिए ।
आइतवार ५५ र सोमवार ७० बिरामीको उपचार गर्नुका साथै परामर्श सेवा दिएका थिए । स्वास्थ्य चौकीका प्रमुख केसीसहित सिनियर अहेब विक्रम पुन, अनमी नीता पुन, सनम वुद्धुजा पुन, अहेव चौथो संगीना मगराती लगायतले डा. केसीलाई सघाएका थिए ।
चिकित्सा शिक्षाका अभियान्ता डा. केसीले गत हप्ता बागलुङको निसिखोला गाउँपालिकाको बोहोरागाउँ स्वास्थ्य चौकीमा ३ दिन उपचार गरेका थिए । उनी बागलुङबाट कुनै खबर विना भुरुङ्ग तातोपानी आएका हुन् । गाउँपालिका र स्वास्थ्य चौकीले औषधिको व्यवस्थापन गरेको थियो ।
‘पूर्व जानकारी विनै डा. केसी स्वास्थ्य चौकीमा आउनुभएको थियो,’ स्वास्थ्य चौकी प्रमुख केसीले भने, ‘हामी पनि अचम्ममा पर्यौं ।’
स्वास्थ्य चौकीले सामाजिक सञ्जाल, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि र संघसंस्थामार्फत सेवा लिनका लागि सर्वसाधारणलाई अनुरोध गरेको थियो ।
दाना, नारच्याङ, भुरुङ्ग तातोपानी, घार, शिख, पाउद्धार, पोखरेबगर, ठूलोबगरका सर्वसाधारण सेवा लिन आएका थिए । फुर्सदको समयमा ग्रामीण क्षेत्रका बिरामीको उपचारका लागि आएको डा. केसीले बताए ।
‘ग्रामीण क्षेत्रमा हाडजोर्नी तथा नशारोगसम्बन्धी समस्या भएका धेरै बिरामी उपचारको पहुँच बाहिर छन्,’ उनले भने, ‘फुर्सदको समयमा गाउँमै पुगेर सेवा दिने उद्देश्यले म्याग्दी आएको हुँ ।’