२१ असार २०८३, आइतबार

श्रमिक दिवसमा प्रधानमन्त्रीको शुभकामना – सामाजिक सुरक्षा कार्यक्रम अनिवार्य गर्छु

बैशाख १८, २०८०
श्रमिक दिवसमा प्रधानमन्त्रीको शुभकामना – सामाजिक सुरक्षा कार्यक्रम अनिवार्य गर्छु

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा सोमवार जारी गरेको शुभकामना सन्देशमा सामाजिक सुरक्षा कार्यक्रमलाई सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल गरिने उल्लेख छ ।

‘राष्ट्रका उच्च स्थानबाट वार्षिक रुपमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारमा यसै वर्षदेखि लागू हुने गरी कम्तीमा २ प्रतिशत मजदुरलाई समावेश गर्ने नीति लिइने जानकारी गराउँदछु,’ सन्देशमा भनिएको छ, ‘सम्पूर्ण मजदुरको काम, कर्तव्य र अधिकार स्पष्ट पार्दै सेवा शर्त र सुविधा निश्चित र वैधानिक गर्न अनुगमनकारी निकायलाई सक्रिय बनाइने प्रतिबद्धता व्यक्त गर्दछु ।’

प्रधानमन्त्री प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी दिदीबहिनी, दाजुभाइ तथा आमा बुवामा सुख, शान्ति र समृद्धिसहित उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरे । सन्देशमा अदक्ष तथा अप्रमाणित अवस्थामा जोखिमपूर्ण काम गरिरहेका सबै सरसफाइ मजदुरलाई आगामी आर्थिक वर्षभित्र दक्ष बनाउने उद्देश्यका साथ सरकारी निकाय र जिम्मेवार संस्थाहरुले अनिवार्य रुपमा आफ्ना मजदुरलाई उचित पेशागत तालिम दिन, आधुनिक सामग्री प्रयोग गर्न, सुरक्षासहितको उपयुक्त पोशाक प्रयोग गर्न तथा कामको नियमित अनुगमन गर्न निर्देशन दिइएको उल्लेख छ ।

नेपालमा श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त संघर्ष र बलिदानका अनेकौं कीर्तिमान कायम गरेका र मजदुरसहित उत्पीडित जाति, क्षेत्र, लिंग र समुदायका जनताको संघर्ष र बलिदानको कीर्तिमानकै कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख छ । नेपाल अहिले विकास, समृद्धि, स्थिरता र सुशासनको व्यावहारिक अभ्यासको चरणमा प्रवेश गरेको सन्देशमा छ ।

नेपाल र विश्वका मजदुरमा बधाई तथा शुभकामना व्यक्त गर्दै सन्देशमा भनिएको छ, ‘नेपाली श्रमिक जनसमुदाय खास गरी किसान मजदुरको हकहित र अधिकारका पक्षमा आफूलाई उभ्याउने प्रण गर्दछु, नेपाली श्रमजीवी जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पुर्‍याउने ऐतिहासिक जिम्मेवारी हाम्रा सामू छ । यो जिम्मेवारी पूरा गर्न म अनवरतरुपमा लागिरहने प्रण गर्दछु ।’

८ घण्टाको कार्यदिनको मागसहित आफ्नो अधिकारका निमित्त अमेरिकाको शिकागो शहरका मजदुरहरूले गरेको संघर्षलाई स्मरण गर्दै नेपाल लगायत विश्वभरका मजदुरहरूले १ मईको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउँदै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्