१७ असार २०८३, बुधबार
निरा हत्या प्रकरण

निरा हत्याकाण्ड: आरोपी पक्राउ गरिसक्दा पनि प्रहरीले सुल्झाउन नसकेका अनुत्तरित प्रश्न

बैशाख १८, २०८०
निरा हत्याकाण्ड: आरोपी पक्राउ गरिसक्दा पनि प्रहरीले सुल्झाउन नसकेका अनुत्तरित प्रश्न

चाबहिल सरस्वतीनगरमा ‘निरु किचन’ नामक भाँडा पसल सञ्चालन गर्दै आएकी निरा पाण्डे आचार्यको हत्या आरोपीलाई पक्राउ गरी प्रहरीले आइतवार सार्वजनिक गर्‍यो ।

झापाको धुलाबारी घर भएका विनोद विश्वकर्मालाई शनिवार राति १० बजे बिर्तामोडस्थित इलाम बसपार्कबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

विनोदलाई काठमाडौं ल्याएलगत्तै सीआईबीले सोमवार हतार-हतारमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्‍यो । उनलाई पक्राउ गरेको १७ घण्टामा सार्वजनिक गरिएको हो ।

विनोदलाई आइतवार बिहानै काठमाडौं ल्याउने तयारी भए पनि खराब मौसमका कारण विमान उडानमा ढिलाइ हुँदा मध्याह्न मात्र ल्याइएको थियो ।

त्यही बीचमा उनीसँग बयान लिएर प्रारम्भिक अनुसन्धान गरेको सीआईबीमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले पत्रकार सम्मेलनमा बताए ।

यो बीचमा विनोदले हत्या स्वीकारेको दाबी प्रहरीले गरेको छ । 

अहिलेसम्म प्रहरीको दाबीलाई मान्नुबाहेक अरू विकल्प छैन किनकी पत्रकार सम्मेलनअघि नै प्रहरीले आरोपीलाई प्रश्न सोध्न नपाइने भनी रोक लगाइसकेको थियो ।

‘हामीले प्राविधिक लगायतका विभिन्न अनुसन्धानका प्रक्रियाबाट बलियो प्रमाणका आधारमा उनलाई पक्राउ गरेका छौं,’ पत्रकार सम्मेलनमा एसएसपी आचार्यले भनेका थिए ।

विनोद भक्तपुरको लोकन्थलीबाट सार्वजनिक बस चढेर सरस्वतीनगर पुगी हत्या गरेको दाबी प्रहरीले गरेको छ । त्यसपछि प्रहरीको अर्को दाबी छ– घटना योजनाबद्ध भन्दा पनि सुन र पैसा लुट्नका लागि आकस्मिक रूपमा घटाएको देखिन्छ ।

‘उसले र्‍यान्डम्ली त्यो पसल छानेको र ती महिलाको घाँटीमा भएको सुन देखेर आवेगमा आई हत्या गरेको देखिएको छ,’ सीआईबीकी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले भनिन्, ‘अहिलेसम्मका प्रमाण र प्रारम्भिक अनुसन्धानमा उसले योजना बनाएर हत्या गरेका देखिएको छैन ।’

तर, त्यही पसलमा किन र निरा नै किन भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ प्रहरीले दिन सकेको छैन । यदि सुनका लागि हो भने एक तोलाको सिक्री मात्र लगाएको व्यक्ति नै किन छान्यो भन्ने प्रश्न पनि अनुत्तरित छ ।

निराका आफन्तले अर्को आशंका पनि गरिरहेका छन् । प्रहरीका अनुसार घटनास्थल रगताम्मे अवस्थामा थिएन । भुइँमा थोरै रगत मात्र देखिएको थियो ।

जसरी निराको शरीरमा १५/२० ठाउँमा चोट लागेको थियो त्यसअनुसार रगत नदेखिनुले पनि शंका उब्जाएको निराका आफन्तहरू बताउँछन् ।

‘त्यत्रो चक्कुले हान्दा किन रगत छरिएको थिएन ? कि बाहिर हत्या गरेर त्यहाँ फालिएको हो ?,’ आइतवार पत्रकार सम्मेलनमा सीआईबीकी निर्देशक किरण बज्राचार्यलाई निराका एक आफन्तले प्रश्न गरेका थिए । 

एआईजी बज्राचार्यले अहिले सबैतिरबाट प्रश्न उठेकाले हत्या अभियुक्त पत्ता लगाएर सार्वजनिक गर्ने कुरा नै महत्त्वपूर्ण भएको भन्दै प्रारम्भिक अनुसन्धान मात्र सकिएको लोकान्तरलाई बताइन् । 

‘अभियुक्त पत्ता लगाउनु पहिलो प्राथमिकता थियो, हामीले पक्राउ गरेर सार्वजनिक गर्‍यौं । उसले हत्या गरेको भन्नेमा दुई मत देखिएन,’ एआईजी बज्राचार्यले भनिन्, ‘अब थप अनुसन्धान गर्छौं ।’

घटनास्थलमा रगत नदेखिएको भनेर आफन्तले उठाएको प्रश्नमा बज्राचार्यले आन्तरिक रक्तश्राव (इन्टरनल ब्लिडिङ) भएको भनी पोस्टमार्टममा संलग्न चिकित्सकले बताएको जानकारी दिइन् ।

‘डाक्टरले हामीलाई मुटु र फोक्सोमा हिट गर्दा इन्टरनल ब्लिडिङ भएको भनेर बताउनु भएको छ । हामीले डाक्टरको कुरालाई पत्याउनु पर्‍यो नि,’ उनले भनिन् ।

हत्याको अर्को पाटो हो, निरा र उनका पति योगेश आचार्यको सम्बन्ध राम्रो थिएन । निराको माइती पक्षले यस विषयलाई पनि उठाउँदै आएको देखिन्छ ।

उनीहरू विगत २ वर्षदेखि एक साथ नरहेको तर, एकसाथ रहेको देखाउन सामाजिक सञ्जालहरूमा केही तस्वीरहरू भने राख्ने गरेको एक आफन्त बताउँछन् ।

प्रहरीले पनि उनीहरूको सम्बन्ध राम्रो नरहेको कुरा उल्लेख गरेको छ ।

घटनास्थलबाट करीब ३ सय मिटरको दूरीमा अर्को भाँडा पसल छ । उक्त पसल निराका पति योगेशले सञ्चालन गर्थे ।

निराको शव वैशाख ७ गते आफ्नै पसलमा भेटिएको थियो ।

एक ग्राहकले पसलमा पुग्दा शव देखेपछि नजिकैको पसलमा खबर गरेका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई बोलाएका थिए ।

घटनापश्चात स्थानीय र पीडित पक्षले दिनदिनै आन्दोलन गरिरहेका थिए । सडकदेखि सदनसम्म यो विषयले प्रवेश पाएको थियो । सदनमा उभिएर जवाफ दिँदै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले छिट्टै हत्यारा पत्ता लगाउने दाबी गरेका थिए ।

त्यसलगत्तै प्रहरी प्रधान कार्यालयले सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यको नेतृत्वमा अनुसन्धान समिति बनाएको थियो ।

समितिमा सीआईबीका अलावा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरका प्रहरी अधिकृतहरू समेत सामेल छन् । 

salt training

कमेन्ट गर्नुहोस्